एक रुपैयाँ किलोमा पनि बिकेन गोलभेँडा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एक रुपैयाँ किलोमा पनि बिकेन गोलभेँडा



कञ्चनपुर । ऋण लगानी गरेर लगाइएको गोलभेँडाले बजार नपाएपछि शुक्लाफाँटा नगरपालिका–३ का किसानले घाटा व्यहोरेका छन् ।

ऋण लगानी गरेर लगाइएको गोलभेँडा बजारमा रु एक प्रतिकिलोका दरले बिक्री हुन नसक्दा किसानले घाटा व्यहोरेका हुन् । रु ५० हजार ऋण गरेर गोलभेँडा रोपेका भरतबहादुर चौधरी रु १० हजारको मात्रै गोलभेँडा बिक्री भएको बताउनुहुन्छ ।

“एक रुपैयाँमा बिक्री गर्न खोज्दासमेत बिक्री भएन,” उहाँले भन्नुभयो । गोलभेँडा खेतमा लटरम्म फलेको छ । खेतमै कुहिने अवस्था छ । आफ्नो खेतमा रु एक लाखभन्दा बढीको गोलभेँडा कुहिएको चौधरीले बताउनुभयो ।

गोलभेँडा खेतीका लागि सहकारीबाट लिएको ऋण तिर्न अन्यत्रबाट व्यवस्था गर्नु परेको उहाँको भनाइ छ ।

गोलभेँडाले बजार नपाएपछि वसन्ती चौधरी मारमा पर्नुभएको छ । गतवर्ष गोलभेँडा खेतीबाट रु तीन लाखभन्दा बढी आम्दानी गर्नुभएका चौधरी यसवर्ष मुश्किलले रु ३० हजार मात्रै कमाई भएको बताउनुहुन्छ । उहाँको रु दुई लाखभन्दा बढीको गोलभेँडा खेतमै कुहिएको छ ।

यहाँका किसानले लगाएको गोलभेँडा बिक्री नहँुदा रु पाँच लाखभन्दा बढीको घाटा भएको छ । शुक्लाफाँटा नगरपालिका–३ का वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरी किसानलाई बजारको समस्या भएको बताउनुहुन्छ ।

“तरकारी पर्याप्त मात्रामा उत्पादन भएको छ, बजार पाउन सकेको छैन,” उहाँले भन्नुभयो । भारतबाट आयात गरिने गोलभेँडाका कारण यहाँका किसानले वर्षेनी घाटा व्यहोर्नु परको छ ।

 

प्रकाशित : ३ जेष्ठ २०७५, बिहीबार १४:३९