गरिमा विकास बैंकले शुरु गर्यो रेमिट सेवा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

गरिमा विकास बैंकले शुरु गर्यो रेमिट सेवा



काठमाडाै । गरिमा विकास बैंक लिमिटेडले रेमिट सेवा शुचारु गरेको छ । बैंकले मंगलबारदेखि आफ्नो रेमिट प्रोडक्ट ‘गरिमा रेमिट’ सञ्चालनमा ल्याएको हो । सोमबार आयोजित एक कार्यक्रमका बीच विकास बैंकका सञ्चालक डा.आनन्दप्रसाद श्रेष्ठले गरिमा रेमिटको उद्घाटन गरे ।

उद्घाटन कार्यक्रममा बोल्दै सञ्चालक डा.आनन्द प्रसाद श्रेष्ठले विकास बैंकले ग्राहकहरुलाई प्रदान गर्ने सेवाहरुमा विविधिकरण गर्दै जाने क्रममा गरिमा रेमिट जस्तो महत्वपूर्ण प्रोडक्ट सञ्चालनमा ल्याईएको र यस रेमिटको माध्यमबाट देशका विभिन्न स्थानहरुमा रहने गरिमा रेमिटका एजेण्टहरु मार्फत एक स्थानबाट अर्को स्थानमा सहज रुपमा रकम स्थानान्तरण गर्न सकिने बताए ।

बैंकका प्रमूख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले बर्तमान प्रतिष्पर्धात्मक वातावरण, सेवाको विविधकरण तथा ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै विकास बैंकले गरिमा रेमिट नामको रेमिट्यान्स प्रोडक्ट सञ्चालनमा ल्याएको बताए । प्रमुख कार्यकारी अधिकृत ढकालले छोटो समयभित्र नै गरिमा रेमिटलाई एउटा स्थापित रेमिट ब्राण्ड बनाउने गरि कार्य गरिने बताए ।

उनले बैंकले छिट्टै नै विदेशी मुद्रा विनिमय सम्बन्धी कार्य गर्ने तथा भिसा डेविट कार्ड समेत सञ्चालनमा ल्याउने जानकारी दिए । काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको यस बैंकले बैशाख महिनामा प्रदेश नं. १ का झापा, मोरङ्ग र सुनसरी जिल्लामा ८ वटा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।

हाल राजधानीमा ५ शाखा कार्यालयसहित देशभर ५७ वटा शाखा कार्यालय र १२ वटा बैंकका एटीएम संचालनमा रहेको छन । साथै, विकास बैंकले छिट्टै नै झापाको दमक, काठमाण्डौंको नयां बानेश्वर, भक्तपूरको सुर्यविनायक, ललितपूरको कूमारीपाटी, रुपन्देहीको योगीकुटी, कैलालीको धनगढी, बांकेको नेपालगञ्ज, दाङ्गको घोराही र पोखराको रामबजारमा समेत शाखा कार्यालय स्थापना गर्ने जनाएको छ ।

उल्लेखित शाखा कार्यालय स्थापनापश्चात विकास बैंकका कुल शाखा संख्या ६६ पुग्नेछन । हाल विकास बैंकको चूक्ता पुंजी २ अर्ब ५३ करोड ४८ लाख ७९ हजार रहेको छ ।

विकास बैंकले २०७५ बैशाख मसान्तसम्म १८ अर्ब ९० करोड रुपैंया निक्षेप संकलन गरि १७ अर्ब ५० करोड रुपैंया कर्जा लगानी गरेको छ । उक्त अवधिसम्म विकास बैंकले ४४ करोड सञ्चालन मूनामा आर्जन गर्न सफल भएको छ ।

प्रकाशित : १ जेष्ठ २०७५, मंगलवार २२:२६