बुटवल पावर कम्पनी (बिपिसी) का सेयरधनीले २० प्रतिशत नगद लाभांश पाउने भएका छन् । कम्पनीले २ अर्ब २१ करोड रुपैयाँ चुक्ता पुँजीको २० प्रतिशत लाभांश दिन लागेको हो । आगामी जेठ ८ गते हुने आर्थिक वर्ष २०७३/७४ को वार्षिक साधारणसभाले लाभांश दिने सञ्चालक समितिको प्रस्ताव पारित गर्ने उपाध्यक्ष (वित्तीय) राधेश्याम श्रेष्ठले बताए ।
उनका अनुसार कम्पनीका ८८ हजार सेयरधनीलाई ४५ करोड रुपैयाँ बराबरको नगद लाभांश बाँडिने छ । साधारणसभाबाट पारित भएपछि सरकारको स्वीकृति लिएर लाभांश बाँड्न सुरु गरिने कम्पनीले जनाएको छ ।
नयाँ सेयर (फर्दर पब्लिक अफरिङ–एफपिओ) सदस्यले पनि लाभांश पाउने भएका छन् । गत चैत २५ गते बसेको सञ्चालक समितिको बैठकले नगद लाभांश दिने निर्णय गरेको थियो । बिपिसीले गत आवमा १ अर्ब १० करोड रुपैयाँ आम्दानी गरेको छ । कुल आम्दानीबाट ६६ करोड ८० लाख रुपैयाँ मुनाफा कमाएको छ ।
Comment