ऐतिहासिक ढुङ्गेधाराको संरक्षण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

ऐतिहासिक ढुङ्गेधाराको संरक्षण



बाबियाचौर । म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ७ घराम्दीका बासिन्दाले स्थानीयस्तरमा आर्थिक स्रोत जुटाएर ऐतिहासिक पहिचान झल्कने ढुंगेधाराको संरक्षण गरेका छन् ।

आधुनिक समाजको विकास क्रमसँगै कुनै समय गाउँबस्तीमा खाने पानी आपूर्तिको स्रोतको रुपमा रहेको ढुंगेधाराको जीर्णोद्धार गरेर व्यवस्थित बनाइएको थियो । प्रवासमा रहेका युवाको पहलमा आर्थिक स्रोत जुटाएर स्थानीय बासिन्दाले “सुनधारा” नामाकरण गरेको ऐतिहासिक सम्पदाको संरक्षण गरिएको वडा सदस्य हर्कबहादुर पुर्जाले जानकारी दिनुभयो ।

पित्तल धातु लेपन गरेर गाई र साढेको अनुहार आकार भएको दुईवटा धाराबाट पानी खस्ने बनाइएको छ । ट्यांकी निर्माण, धाराको भित्ता र भूइँमा टायल बिछ््याइएको छ । गुजुमुञ्ज ढुंगे घरको बाक्लो बस्ती रहेको घराम्दी गाउँको सबैभन्दा तल रहेको धाराको दुईतर्फ चौतारी बनाइएको छ ।
रातको समयमा उज्यालोका लागि विद्युत् जडान गरिएको छ । घर÷घरमा खानेपानीको धारा जडान भए पनि कपडा धुन र स्नानका लागि घराम्दीवासी उक्त धाराको प्रयोग गर्छन् । पहिले ढुंगाको धारा रहेको उक्त स्थानमा विसं २०३३ मा एक विदेशी नागरिकको पहलमा व्यवस्थित गरिएको थियो ।

“सुनधारा” घराम्दी गाउँको ऐतिहासिक पहिचान र सम्पदा भएको स्थानीय अगुवा तीर्थबहादुर फगामीले बताउनुभयो । धाराको जीर्णोद्धारका लागि घराम्दी घर भई हाल साउदीमा रहनुभएका कर्ण पुर्जा पुनको पहलमा देश विदेशमा रहेकाबाट रु १५ लाख ३४ हजार ४११ रुपैया सहयोग जुटाइएको थियो ।

ऐतिहासिक महत्वको धाराको संरक्षण र जीर्णोद्धारका लागि सामाजिक सञ्जाल मार्फत अभियान सञ्चालन गरेर आर्थिक स्रोत जुटाइएको अभियन्ता पुर्जाले बताउनुभयो । धाराको जीर्णोद्धार सम्पन्न भएपछि बचत भएको करिब रु पाँच लाख गाउँको ढल निकासका लागि उपलब्ध गराइएको वडा सदस्य पुर्जाले बताउनुभयो ।

एक सय २० जना चन्दादाताले गरेको सहयोगको विवरण शिलालेख बनाइ सार्वजनिक गरिएको छ । ९५ घरधुरी रहेको घराम्दी गाउँमा खानेपानी तथा सरसफाइ सव डिभिजन कार्यालयमार्फत एक घर एक धारा सहितको खानेपानी आयोजना निर्माणकार्य अन्तिमचरणमा पुगेको छ । घर÷घरमा खानेपानी सुविधासँगै व्यवस्थित ढल निकास गरेर गाउँलाई सरसफाइमा नमूना बनाउने घराम्दीवासीको योजना रहेको छ ।

प्रकाशित : २० बैशाख २०७५, बिहीबार ११:५६