चन्द्रागिरि सुरक्षित पर्यटकीय गन्तव्य – पर्यटनमन्त्री अधिकारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

चन्द्रागिरि सुरक्षित पर्यटकीय गन्तव्य – पर्यटनमन्त्री अधिकारी



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय श्री रविन्द्र अधिकारीज्यूले बुधवार विहान चन्द्रागिरि केवलकारको अनौपचारिक भ्रमण गरे । भ्रमणमा आउनु भएका माननीय मन्त्रीज्यूलाई चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा संचालक समितिका सदस्यहरु एवम महाप्रवन्धकले स्वागत गदै परियोजनाको स्थलगत भ्रमण गराए ।

भ्रमणका क्रममा उपस्थित संचारकर्मीसंग संक्षिप्त कुराकानी गदै माननीय मन्त्रीज्यूले सडकसंजाल र विमानस्थल जस्ता मुख्य मुख्य पर्यटकीय पूर्वाधार निमार्ण गर्ने दायित्व राज्यको भएको बताए । त्यसपछिका पर्यटकीय पूर्वाधार र पर्यटकीय उत्पादन तयार गर्ने काममा नेपालको निजि क्षेत्रलाई पर्याप्त प्रोत्साहन गर्नुपर्ने कुरामा जोड दिदै भने तब मात्र चन्द्रागिरि र चन्द्रागिरि जस्तै सुन्दर सयौ पर्यटकीय गन्तव्यको लाभ नेपालको अर्थतन्त्रले हासिल गर्न सक्दछ । अव तोकिएका काम तोकिएकै समयमा निर्माण सम्पन्न भैसक्नुपर्ने गरि कार्यतालिका निर्माण गरेर काम गर्न लागिएको जानकारी दिँदै अव काम गरेर देखाउने वाहेक अन्य सुविधा आफुलाई नरहेको प्रष्ट पारे। पर्यटन मन्त्रालयमा आफ्नो जिम्मेवारी समस्त पर्यटन व्यवसायीहरुको लागि असल अविभावक भएको भन्दै नेपालको अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान बढाउन सबैलाई सहजीकरण गर्ने विश्वास दिलाए ।

सरकार आसन्न भ्रमण वर्ष २०२० मा वार्षिक १५ लाख पर्यटक भित्रयाउने योजनाका साथ अगाडी बढीरहेको जानकारी दिदै पर्यटकीय पूर्वाधारहरुको निमार्णमा सहजिकरण तथा सुरक्षाको पूर्ण दायित्व राज्यले लिने बताउनुभयो । संक्षिप्त प्रतिक्रियाकै क्रममा चन्द्रागिरि लगायत नेपालका सम्पूर्ण पर्यटकीय गन्तब्यहरु विश्वका पर्यटकहरुका लागी सुरक्षित रहेको बताए ।

चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष एवम नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष श्री चन्द्रप्रसाद ढकालले कार्यभार सम्हालेकै एक हप्ता भित्रमा मन्त्रीज्यूले यस चन्द्रागिरि परियोजनाको भ्रमण गरि आफु र आफ्नो समुहलाई हौसला प्रदान गर्नुभएकोमा धन्यवाद ब्यक्त गरे।

ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्त्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हल लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।

प्रकाशित : ८ चैत्र २०७४, बिहीबार ११:१७