काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले प्राविधिक समस्या बाहेक कुनै पनि अवस्थामा विद्युत्भार कटौतीको समस्या पुनः नदोहोरिने स्पष्ट पारेको छ । विगत केही दिनदेखि विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा अघोषितरुपमा विद्युत्भार कटौती हुने गरेको भन्ने आशयका समाचार प्रकाशित भएपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कुनै पनिहालतमा विद्युत्भार कटोती नहुने स्पष्ट पार्नुभएको हो ।
प्राधिकरणकाअनुसार हाल औद्योगिक ग्राहकलाई दैनिक तीन घण्टाबाहेक अन्य ग्राहकलाई घोषित÷अघोषितरुपमा कुनै प्रकारको विद्युत्भार कटौती भएको छैन ।
कार्यकारी निर्देशक घिसिङले प्राविधिक समस्याका कारण कहिं कतै केही समयसम्म विद्युत आपूर्तिमा अवरोध आएको भएपनि विद्यत्भार कटौती गर्ने र हुने कुरा सोच्न पनि नसकिने स्पष्ट पार्नुभएको छ । समस्या देखिएका स्थानमा समेत प्राविधिक टोली खटाएर समस्या समाधान गरी विद्युत आपूर्ति गरिरहेको जानकारी दिदै घिसिङले विद्युत् आपूर्तिमा गुणात्मक सुधार ल्याउन ग्राहकको मागलाई समेत मध्यनजर गरी फिडर तथा ट्रान्सफर्मरको क्षमता बढाइएको र वितरण प्रणालीलाई सदृढीकरण गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखिएको जानकारी दिनुभयो ।
हिउँद लागेसँगै खोला तथा नदीमा पानीको वहाव घट्दा विद्युत उत्पादनमा कमी आउने गरेको स्पष्ट पार्दै उहाँले यही समयमा विद्युत माग बढ्ने हुँदा उपलब्ध सीमित उत्पादनले विद्युत माग र आपूर्ति व्यवस्थापन चुनौतीपूर्ण रहेको उहाँको भनाइ छ ।
चुनौती भएपनि उचित व्यवस्थापन गरी विद्युत आपूर्तिलाई सकेसम्म सहज बनाउन प्राधिकरण प्रतिबद्ध रहेको र आम ग्राहकलाई उज्यालो दिन गत वर्षझै यस वर्षको हिउँदमा समेत प्राधिकरण दृढताका साथ लागिपर्ने प्राधिकरणले जनाएको छ ।
विद्युत्भार कटोती न्यूनीकरण गर्न प्राधिकरणले विद्युत माग र आपूर्ति व्यवस्थापनको योजना तथा कार्यक्रम बनाएर दृढतापूर्वक कार्यान्वयन गरिरहेको समेत प्राधिकरणको भनाइ छ ।
विद्युत् उच्च मागको समयमा प्राधिकरणले आफ्ना जलविद्युत आयोजनाहरुबाट ३७२ मेगावाट, निजी क्षेत्रबाट २२० मेगावाट र भारतबाट ३७२ मेगावाट गरी कूल ९६४ मेगावाट विद्युत आपूर्ति गरिरहेको छ ।अपुग करिब ३०० मेगावाटका लागि औद्योगिक ग्राहकको हकमा उच्चतम् विद्युत माग हुने समयमा मात्र तीन घण्टा विद्युत कटौती गर्ने गरेको छ ।
यस वर्षको हिउँदको विद्युत मागको व्यवस्थापनका लागि प्राधिकरणले आफ्नो स्वामित्वमा रहेका विद्युत गृहका उच्चतम् सञ्चालन, निजी क्षेत्रको उत्पादन र अपूग विद्युत विगतमा झैं भारतबाट आयात गर्ने योजना बनाएको जनाएको छ ।विद्युत आपूर्तिको लागि नेपाल आत्मनिर्भर भई नसकेको अहिलेको अवस्थामा बिगतमा झैं विद्यमान नेपाल–भारत प्रसारण लाइनबाट सहजरुपमा विद्युत आपूर्ति भई रहेको र यसको निरन्तरताको लागि भारत सरकार र सम्बन्धित नियकायहरुबाट प्राधिकरणले सहयोग पाइरहेको समेत जनाएको छ ।
विद्युत चोरीलाई निरुत्साहित गर्दै माग बढी हुने साँझ र बिहान विद्युत खपत बढी गर्ने हिटर, वासिङ मेसिन, आइरन, पानी तान्ने पम्पलगायतका विद्युतीय उपकरण प्रयोगमा नल्याएर‘उज्यालोनेपाल’ बनाउने अभियानमा सहयोग गर्न प्राधिकरणले आग्रह गरेको छ ।
Comment