बेनी हाइड्रोपावरको आईपीओ सर्वसाधारणका लागि खुला « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

बेनी हाइड्रोपावरको आईपीओ सर्वसाधारणका लागि खुला



काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८ लाख ६३ हजार २०० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो ।

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले कम्पनीलाई २०८२ माघ २९ गते २० करोड ८० लाख रुपैयाँ बराबरको २० लाख ८० हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति दिएको थियो ।

कम्पनीले जारी पूँजीको १० प्रतिशत अर्थात् १० लाख ४० हजार कित्ता आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको १ लाख ४ हजार कित्ता सेयरको बाँडफाँट सम्पन्न गरिसकेको छ ।

यस्तै, कर्मचारीका लागि २० हजार ८०० कित्ता र सामूहिक लगानी कोषका लागि ५२ हजार कित्ता सेयर छुट्याइएको छ । बाँकी रहेको ८ लाख ६३ हजार २०० कित्ता सेयर सर्वसाधारणमा बिक्रीका लागि खुला गरिएको हो ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आवेदन दिने अवधि छिटोमा भदौ २५ गतेसम्म र पर्याप्त आवेदन नपरे ढिलोमा असोज ५ गतेसम्म रहनेछ ।

आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृत आस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा तिनका शाखामार्फत आवेदन दिन सकिनेछ । साथै, मेरोसेयर प्रणालीमार्फत पनि आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

आईपीओको बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ । कम्पनीलाई इक्रा नेपालले ‘इक्रा आईआर डबल बी प्लस’ रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ ।

प्रकाशित : 7 September, 2026 11:41 am