काठमाडौं। भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति नेपाल निजी जीवन बीमा व्यवसायी संघले दुःख व्यक्त गरेको छ। संघको भदौ १५ गते बसेको बैठकले विपत्तिमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव पारित गरेको छ।
संघले बाढीपहिरोमा परी बेपत्ता भएका व्यक्तिहरूको सकुशल उद्धारको काम शीघ्र सम्पन्न हुने आशा व्यक्त गर्दै उद्धार कार्यमा अहोरात्र खटिएका नेपाल सरकार, सुरक्षा निकाय, नागरिक समाज तथा मित्रराष्ट्रका उद्धारकर्ताहरूप्रति आभार व्यक्त गरेको छ।
त्यस्तै, विपत्तिबाट क्षतिग्रस्त आयोजना, पूर्वाधार, संरचना तथा जनधनको विवरण प्राप्त भएपछि दाबी भुक्तानीको कार्यलाई उच्च प्राथमिकतामा राखी शीघ्र भुक्तानी गर्ने प्रतिबद्धता संघले जनाएको छ।
बाढीपीडित नागरिकको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणमा बीमा कम्पनीहरूले योगदान गर्नुपर्ने विषयलाई गम्भीरतापूर्वक लिँदै संघ र आबद्ध जीवन बीमा कम्पनीहरूले ३ करोड ४७ लाख रुपैयाँ सहयोग गरेका छन्।संघका अध्यक्ष मनोहर दास मुलको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त सहयोग रकम हस्तान्तरण गरेको हो।
सहयोग गर्ने कम्पनीहरूमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, सगरमाथा लुम्बिनी इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, नेको इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, युनाइटेड अजोड इन्स्योरेन्स, सानिमा जीआईसी इन्स्योरेन्स तथा हिमालयन एभरेस्ट इन्स्योरेन्सलगायत रहेका छन्।
यसैगरी, सगरमाथा लुम्बिनी इन्स्योरेन्स, हिमालयन एभरेस्ट इन्स्योरेन्स र युनाइटेड अजोड इन्स्योरेन्सका कर्मचारीहरूले व्यक्तिगत रूपमा गरेको २६ लाख २३ हजार १८ रुपैयाँ सहयोग रकमसमेत हस्तान्तरण गरिएको छ।
एनएलजी इन्स्योरेन्स र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले यसअघि नै सहयोग रकम हस्तान्तरण गरिसकेका छन् भने अन्य कम्पनीहरूले पनि सहयोग गर्ने क्रम जारी रहेको संघले जनाएको छ।
सहयोग रकम हस्तान्तरणका क्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देश संकटमा परेका बेला बीमा कम्पनीहरूले गरेको सहयोगका लागि धन्यवाद व्यक्त गरेका छन्।










Comment