काठमाडौं । शिवम् सिमेन्ट लिमिटेडको सहायक कम्पनी शिवम् होल्डिङ्स लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वार्षिक साधारणसभा सम्पन्न गरेको छ। कम्पनीका अध्यक्ष शिवरतन शारडाको अध्यक्षतामा भदौ १४ गते काठमाडौंमा सम्पन्न सभाले विभिन्न प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको हो।
सभाले सञ्चालक समितिका अध्यक्ष शारडाले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदनसहित आर्थिक वर्ष २०८२/८३ का वित्तीय विवरण पारित गरेको छ। साथै, आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्तावसमेत स्वीकृत गरिएको कम्पनीले जनाएको छ।
साधारणसभाले हाल कायम सेयरधनीहरूलाई ११ करोड ६० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको छ।
यस्तै, आगामी चार वर्षका लागि कम्पनीको सञ्चालक समिति पुनर्गठन गरिएको छ। शिवरतन शारडाको अध्यक्षतामा सुशिल गुप्ता र नन्दिनी मारु सञ्चालक सदस्य तथा चार्टर्ड एकाउन्टेन्ट प्रदीप राज उपाध्याय स्वतन्त्र सञ्चालक रहने गरी नयाँ सञ्चालक समिति गठन गरिएको हो।
यसैबीच, कम्पनीले सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। कम्पनीको ५ अर्ब ८० करोड रुपैयाँ जारी पूँजीको २० प्रतिशत अर्थात् १ करोड १६ लाख कित्ता सेयर सर्वसाधारणलाई सार्वजनिक निष्कासन गर्ने प्रस्ताव सभाले पारित गरेको छ।
सार्वजनिक निष्कासनका लागि यसअघि नेपाल धितोपत्र बोर्डमा पेश गरिएको विवरणपत्र आवश्यक संशोधन, परिमार्जन तथा अद्यावधिक गरी आवश्यक कागजातसहित पुनः बोर्डसमक्ष पेश गर्ने व्यवस्था मिलाउने प्रस्तावसमेत सर्वसम्मत रूपमा पारित भएको कम्पनीले जनाएको छ।





Comment