बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा सात दिन थप « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा सात दिन थप



काठमाडौं ।एनसेलले बाढी प्रभावित क्षेत्रमा सञ्चार सम्पर्कसँगै खोज, उद्धार तथा राहत वितरणमा सहजीकरण गर्न उपलब्ध गराउँदै आएको निःशुल्क भ्वाइस, डेटा तथा एसएमएस सेवा थप सात दिन लम्ब्याएको छ।

कम्पनीका अनुसार थपिएको निःशुल्क सेवा शनिबारदेखि लागू हुनेछ। यससँगै बाढी प्रभावित क्षेत्रमा एनसेलका ग्राहकले थप एक सातासम्म उक्त सुविधा निःशुल्क प्रयोग गर्न सक्नेछन्।

यसअघि बुधबार रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि एनसेलले प्रभावित क्षेत्रमा तीन दिनका लागि निःशुल्क डेटा, अननेट भ्वाइस र १०० वटा एसएमएस उपलब्ध गराउने घोषणा गरेको थियो। उक्त तीनदिने अवधि शुक्रबार सकिएपछि शनिबारदेखि थप सात दिनको सुविधा लागू हुनेछ।

विपद्का समयमा सूचना आदानप्रदान, परिवार तथा आफन्तसँग सम्पर्क, उद्धार टोलीबीच समन्वय र राहत वितरणमा सञ्चार सेवाको महत्वपूर्ण भूमिका रहने भएकाले निःशुल्क सेवाको अवधि थप गरिएको कम्पनीले जनाएको छ।

एनसेलका चिफ कन्जुमर बिजनेस अफिसर उपाङ्ग दत्ताले प्रभावित समुदायलाई परिवार तथा आफन्तसँग सम्पर्कमा रहन र खोज, उद्धार तथा राहतमा खटिएका टोलीलाई आवश्यक समन्वय गर्न सहज होस् भन्ने उद्देश्यले सेवा थप गरिएको बताएका छन्।

बाढीका कारण एनसेलका २७ वटा मोबाइल टावर प्रभावित भएका थिए। तीमध्ये १८ वटा टावर पुनः सञ्चालनमा ल्याइसकिएको छ। बाँकी नौ वटा टावरको सेवा पुनःस्थापना गर्न प्राविधिक टोलीले काम गरिरहेको कम्पनीले जनाएको छ।

एनसेलले खोज, उद्धार, राहत तथा पुनःस्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले बिहीबार एनसेल फाउन्डेसनमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ सहयोगसमेत गरेको थियो।

कम्पनीले प्रभावित क्षेत्रका नागरिकलाई सम्बन्धित सरकारी तथा सुरक्षा निकायले जारी गरेका निर्देशन पालना गरी सुरक्षित रहन आग्रह गरेको छ। साथै विपद्सम्बन्धी आवश्यक सूचना एसएमएस तथा सामाजिक सञ्जालमार्फत प्रवाह गरिरहेको जनाएको छ।

प्रकाशित : 29 August, 2026 1:39 pm