अपर त्रिशूली–३एमा हेलिकप्टर अवतरण, विद्युत् पुनस्र्थापनाका लागि उच्चस्तरीय टोली फिल्डमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

अपर त्रिशूली–३एमा हेलिकप्टर अवतरण, विद्युत् पुनस्र्थापनाका लागि उच्चस्तरीय टोली फिल्डमा



काठमाडौं। भोटेकोशीमा आएको विनाशकारी बाढीपछि प्रभावित भएको अपर त्रिशूली–३ए जलविद्युत् आयोजनामा रोकिएका कर्मचारीहरूको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर बिहीबार सफलतापूर्वक अवतरण गरेको छ । प्रतिकूल मौसमका कारण बुधबार दुई पटकको प्रयास असफल भएपछि आज हेलिकप्टर आयोजनास्थलमा पुग्न सफल भएको हो।

हेलिकप्टर अवतरणसँगै आयोजनाको वास्तविक क्षतिको स्थलगत मूल्याङ्कन सुरु भएको छ । उद्धार, क्षतिको आकलन र विद्युत् सेवा पुनस्र्थापनाको कामलाई तीव्र बनाउन नेपाल विद्युत् प्राधिकरणको उच्चस्तरीय टोली पनि प्रभावित क्षेत्रमा परिचालित भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले उद्धार तथा विद्युत् सेवा यथाशीघ्र पुनस्र्थापना गर्न आवश्यक सबै उपाय अपनाउन निर्देशन दिएका छन् । त्यसपछि प्राधिकरणका निमित्त कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठ नेतृत्वको टोली बिहीबार बिहानैदेखि फिल्डमा खटिएको छ ।

टोलीमा उपकार्यकारी निर्देशक किरणकुमार श्रेष्ठ, वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख तथा प्रवक्ता राजन ढकाल र एनईए इन्जिनियरिङ कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरन्तन विक्रम राणा सहभागी छन्। टोलीले प्रभावित क्षेत्रको वस्तुस्थिति अध्ययन, उद्धार समन्वय र विद्युत् पुनस्र्थापनाको प्रगति अनुगमन गरिरहेको प्राधिकरणले जनाएको छ ।

बाढीका कारण प्रसारण तथा वितरण संरचनामा क्षति पुगेपछि वैकल्पिक माध्यमबाट विद्युत् आपूर्ति सुचारु गर्ने काम पनि अघि बढाइएको छ । प्राधिकरणका अनुसार सिन्धुपाल्चोकबाट जोडिएको वैकल्पिक लाइनमार्फत नुवाकोटका खरानीटार, समुन्द्रटार, चौगाडा, लिखु र पञ्चकन्या क्षेत्रमा विद्युत् सेवा पुनः सञ्चालनमा ल्याइएको छ ।

नुवाकोटका अन्य प्रभावित क्षेत्रमा गरिएको स्थलगत निरीक्षणका क्रममा ६६ केभी प्रसारण लाइनलाई ११ केभीमा चार्ज गरेर विद्युत् आपूर्ति सञ्चालन गर्न सकिने सम्भावना देखिएको प्राधिकरणले जनाएको छ ।

त्यसअनुसार चपली–देवीघाट र बालाजु–त्रिशूली ६६ केभी लाइनलाई ११ केभीमा सञ्चालनमा ल्याउने तयारी तीव्र पारिएको छ । प्राधिकरणले उपलब्ध सबै वैकल्पिक प्राविधिक उपाय परिचालन गरी प्रभावित क्षेत्रमा यथाशीघ्र विद्युत् सेवा पुनस्र्थापना गर्ने प्रयास जारी रहेको जनाएको छ ।

प्रकाशित : 27 August, 2026 10:54 am