भोटेकोशी बाढीपीडितलाई जनउत्थान सहकारीको ८ लाख सहयोग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

भोटेकोशी बाढीपीडितलाई जनउत्थान सहकारीको ८ लाख सहयोग



रुपन्देही । रुपन्देहीस्थित जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकका लागि ८ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ।

संस्थाले नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) मार्फत उक्त सहयोग रकम उपलब्ध गराउने जनाएको छ। प्राकृतिक विपत्तिबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले विभिन्न स्रोतबाट रकम संकलन गर्ने निर्णय गरिएको संस्थाका अध्यक्ष गिरीप्रसाद पुनले जानकारी दिए।

संस्थाको सञ्चालक समितिको आकस्मिक बैठकले बाढी प्रभावितका लागि सहयोग गर्ने निर्णय गरेको हो। संस्थाको साधारण सभाले विपत्तिको समयमा सदस्यको खाताबाट रकम झिकेर सामाजिक सहयोग गर्न सक्ने अख्तियारी सञ्चालक समितिलाई दिएको थियो। सोही अख्तियारीअनुसार प्रत्येक सदस्यको खाताबाट १० रुपैयाँका दरले सहयोग गर्ने निर्णय गरिएको अध्यक्ष पुनले बताए।

संस्थाका प्रमुख कार्यकारी अधिकृत रनबहादुर थापाका अनुसार कुल ८ लाख रुपैयाँ सहयोगमध्ये ४५ हजार शेयर सदस्यबाट प्रतिव्यक्ति १० रुपैयाँका दरले ४ लाख ५० हजार रुपैयाँ संकलन गरिनेछ।

त्यस्तै, संस्थाका समिति तथा उपसमितिका पदाधिकारीबाट एक दिनको भत्ताबापत १ लाख रुपैयाँ, संस्थाको तर्फबाट १ लाख ५५ हजार रुपैयाँ र कर्मचारीबाट एक दिनको तलबबापत १ लाख रुपैयाँ सहयोग गरिनेछ।

संस्थाले विपद्को कठिन अवस्थामा बाढी प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउनु आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गतको दायित्व भएको जनाएको छ।

संकलित सहयोग रकम नेफ्स्कूनमार्फत सम्बन्धित बाढी प्रभावित क्षेत्रमा परिचालन गरिने संस्थाले स्पष्ट पारेको छ। सहकारीका सदस्य, सञ्चालक, कर्मचारी तथा संस्थागत स्रोतबाट संकलित रकममार्फत विपत्तिमा परेका नागरिकलाई प्रत्यक्ष राहत पुर्‍याउने उद्देश्य संस्थाले लिएको जनाएको छ।

प्रकाशित : 26 August, 2026 10:29 pm