काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको नवनिर्मित केन्द्रीय कार्यालय काठमाडौंको बालुवाटारमा औपचारिक रूपमा सञ्चालनमा आएको छ। बैंकको आफ्नै स्वामित्वमा रहेको भवनमा स्थापना गरिएको केन्द्रीय कार्यालयको नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले बुधबार उद्घाटन गरेका हुन्।
नयाँ कार्यालय उद्घाटनसँगै बैंकको हाल लाजिम्पाटमा रहेको केन्द्रीय कार्यालय बालुवाटारमा स्थानान्तरण गरिएको छ।
गरिमा विकास बैंकले २०६४ साल कात्तिक १८ गते स्याङ्जाको वालिङबाट औपचारिक रूपमा वित्तीय कारोबार सुरु गरेको थियो। बैंकले २०६७ साल वैशाख १ गते कास्कीको महेन्द्रपुलमा केन्द्रीय कार्यालय स्थानान्तरण गरेको थियो। राष्ट्रियस्तरको विकास बैंकका रूपमा स्तरोन्नति भएपछि २०७३ साल चैत २७ गते केन्द्रीय कार्यालय पोखराबाट काठमाडौंको लाजिम्पाटमा सारिएको थियो।
नवनिर्मित केन्द्रीय कार्यालय उद्घाटनको अवसरमा बैंक परिसरमा निर्माण गरिएको मन्दिरमा शिव पाञ्चायन प्राणप्रतिष्ठासहित धार्मिक पूजाआजा समेत आयोजना गरिएको थियो।
उद्घाटन समारोहमा नेपाल राष्ट्र बैंकका गभर्नर पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्ट, नेपाल राष्ट्र बैंक तथा अन्य नियामक निकायका पदाधिकारी, बैंक सञ्चालक समितिका सदस्य, पूर्वपदाधिकारी, उच्च व्यवस्थापनका अधिकारी, विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत, शेयरधनी, कर्मचारी तथा ग्राहकको उल्लेख्य उपस्थिति रहेको थियो।
समारोहमा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्यायले स्याङ्जाको वालिङबाट सुरु भएको बैंकको यात्रा पोखरा हुँदै काठमाडौंसम्म आइपुगेको उल्लेख गर्दै आफ्नै स्वामित्वको भवनबाट केन्द्रीय कार्यालय सञ्चालनमा आएसँगै बैंकको अर्को अध्याय सुरु भएको बताए।
उनले बैंकको सफल व्यावसायिक यात्रामा लाखौं ग्राहक, हजारौं शेयरधनी, नियामक निकाय, व्यावसायिक साझेदार संस्था तथा कर्मचारीको योगदान र संस्थागत सुशासनको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे।
त्यस्तै, समापन सत्रमा बोल्दै गरिमा विकास बैंकका अध्यक्ष दिलीपप्रताप खाँडले ग्राहकलाई थप सहज, प्रभावकारी र गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै संस्थागत सुशासन, प्रविधि, नवप्रवर्तन र दिगो विकासलाई प्राथमिकतामा राखेर आगामी दिनमा अझ सशक्त रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
हाल गरिमा विकास बैंकले देशभर १२६ शाखा कार्यालय, ५१ एटीएम तथा आधुनिक बैंकिङ सुविधामार्फत करिब १० लाख ग्राहकलाई सेवा प्रदान गर्दै आएको जनाएको छ। बैंकले नयाँ केन्द्रीय कार्यालयबाट सेवा विस्तार तथा संस्थागत क्षमता थप सुदृढ हुने विश्वास व्यक्त गरेको छ।


Comment