वाणिज्य बैंकको नाफामा उछाल, नबिल अगाडि, केही बैंक भने घाटामा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

वाणिज्य बैंकको नाफामा उछाल, नबिल अगाडि, केही बैंक भने घाटामा



काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ नेपाली बैंकिङ क्षेत्रका लागि समग्रमा सुधारोन्मुख वर्ष बनेको छ। देशका २० वटा वाणिज्य बैंकले सार्वजनिक गरेका पछिल्लो अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकहरूको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा उल्लेख्य रूपमा बढेको छ।

समीक्षा अवधिमा २० वाणिज्य बैंकले कुल ६९ अर्ब ८६ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन्। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा बैंकहरूको कुल खुद नाफा ५२ अर्ब ८१ करोड ७५ लाख रुपैयाँ रहेको थियो। यस आधारमा बैंकहरूको कुल नाफा ३२.२७ प्रतिशत अर्थात् १७ अर्ब ४ करोड ८५ लाख रुपैयाँले बढेको हो।

अर्थतन्त्रका कतिपय सूचक अझै सुस्त रहे पनि बैंकिङ क्षेत्रको नाफामा आएको वृद्धिले वित्तीय क्षेत्रमा सुधारका संकेत देखाएको छ। विशेषगरी गत असारमा काठमाडौँ उपत्यकासहित शहरी क्षेत्रमा बढेको घरजग्गा कारोबार, ब्याज असुलीका लागि नेपाल राष्ट्र बैंकले दिएको १५ दिनको अतिरिक्त समय तथा केही अवस्थामा खराब कर्जा असुलीका लागि बैंकहरूले नयाँ ऋण दिने प्रयासलगायतका कारणले पनि वित्तीय क्षेत्रको समग्र अवस्थामा सकारात्मक प्रभाव परेको देखिन्छ।

नाफाको आकारमा नबिल अगाडि

खुद नाफाको आकारका आधारमा नबिल बैंक सबैभन्दा अगाडि देखिएको छ। बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा ३३.५० प्रतिशतले नाफा बढाउँदै ७ अर्ब ९० करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

त्यस्तै, नाफा वृद्धिदरका आधारमा हिमालयन बैंकले सबैभन्दा ठूलो छलाङ मारेको छ। अघिल्लो वर्ष सामान्य नाफामा सीमित रहेको बैंकले गत आर्थिक वर्षमा १ हजार ४१ प्रतिशतले नाफा वृद्धि गर्दै १ अर्ब ४८ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

कुमारी बैंकले पनि नाफामा उल्लेख्य सुधार गरेको छ। बैंकले ३०५.९५ प्रतिशतको वृद्धि हासिल गर्दै ७ अर्ब ३८ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यससँगै खुद नाफाको आकारमा कुमारी बैंक नबिल बैंकसँग नजिकिएको छ।

अन्य बैंकको नाफामा पनि सुधार

सिटिजन्स बैंक, राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकले पनि नाफामा उल्लेख्य वृद्धि गरेका छन्। यी बैंकको खुद नाफा क्रमशः ६३.०५ प्रतिशत, ६०.६८ प्रतिशत र ४६.२० प्रतिशतले बढेको छ।

त्यस्तै, एनएमबी बैंक, सानिमा बैंक, प्राइम कमर्सियल बैंक र ग्लोबल आइएमई बैंकले पनि बजारको उतारचढावबीच अर्बौं रुपैयाँ खुद नाफा आर्जन गर्दै बैंकिङ क्षेत्रमा आफ्नो उपस्थिति बलियो बनाएका छन्।

विशेषगरी एनआईसी एशिया बैंकका लागि गत आर्थिक वर्ष सुधारको वर्ष बनेको छ। अघिल्लो आर्थिक वर्ष झन्डै पौने चार अर्ब रुपैयाँ घाटामा रहेको बैंकले गत आर्थिक वर्षमा १८ करोड १७ लाख रुपैयाँ खुद नाफा आर्जन गर्दै घाटाको अवस्थाबाट बाहिरिन सफल भएको छ।

केही बैंकको नाफा घट्यो

समग्र बैंकिङ क्षेत्रको नाफा बढे पनि सबै बैंकको वित्तीय अवस्था भने समान रहेन। केही वाणिज्य बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा घटेको छ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकको खुद नाफा ५.३८ प्रतिशत, लक्ष्मी सनराइज बैंकको २३.२६ प्रतिशत, कृषि विकास बैंकको २९.५१ प्रतिशत र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)को ३६.५८ प्रतिशतले घटेको छ।

बदलिँदो बजार परिवेशमा केही ठूला बैंकसमेत नाफा कायम राख्न दबाबमा देखिएका छन्।

प्रभु बैंक घाटामा

गत आर्थिक वर्षमा प्रभु बैंकको वित्तीय अवस्था भने थप चुनौतीपूर्ण देखिएको छ। अघिल्लो आर्थिक वर्षमा नाफामा रहेको बैंक गत आर्थिक वर्षमा २४ करोड १२ लाख ४३ हजार रुपैयाँ खुद घाटामा गएको छ।

यसले बैंकिङ क्षेत्रमा समग्र सुधार देखिए पनि प्रत्येक बैंकको वित्तीय अवस्था र जोखिम व्यवस्थापनको परिणाम फरक–फरक हुने देखाएको छ।

समग्रमा, २० वाणिज्य बैंकको वित्तीय विवरणले नेपाली बैंकिङ क्षेत्र बिस्तारै सुधारको लयमा फर्किंदै गएको संकेत गरेको छ। यद्यपि केही बैंकको नाफामा आएको संकुचन र घाटाले आगामी दिनमा बैंकिङ क्षेत्रमा जोखिम व्यवस्थापन, रणनीतिक सुधार र वित्तीय अनुशासनलाई थप प्राथमिकता दिनुपर्ने आवश्यकता देखाएको छ।

प्रकाशित : 16 August, 2026 10:59 am