आत्मविश्वासी बैंकिङ प्रणाली भए आर्थिक वृद्धि टाढा छैन : अर्थमन्त्री स्वर्णिम वाग्ले « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

आत्मविश्वासी बैंकिङ प्रणाली भए आर्थिक वृद्धि टाढा छैन : अर्थमन्त्री स्वर्णिम वाग्ले



काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकार, नेपाल राष्ट्र बैंक, बैंकिङ प्रणाली र निजी क्षेत्रबीच आत्मविश्वास र समन्वय कायम भए आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न कठिन नहुने बताएका छन्।

बुधबार अर्थ मन्त्रालयमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूसँग भएको छलफलमा उनले सबै पक्ष एउटै लक्ष्य र प्राथमिकताका साथ अघि बढ्नुपर्नेमा जोड दिए।

‘यदि सरकार, नेपाल राष्ट्र बैंक, बैंकिङ प्रणाली र निजी क्षेत्र आत्मविश्वासी छन् भने आर्थिक वृद्धि धेरै टाढाको लक्ष्य हुँदैन,’ अर्थमन्त्री वाग्लेले भने।

उनले पछिल्ला दिनमा उद्योगी–व्यवसायी तथा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूसँग गरेको छलफलबाट निजी क्षेत्रले सहुलियतभन्दा स्पष्ट नीति, स्थिर नियम, छिटो निर्णय र विश्वसनीय कार्यान्वयन खोजिरहेको निष्कर्ष आएको बताए।

अर्थमन्त्री वाग्लेले विगत एक दशकको आर्थिक यात्राको समीक्षा आवश्यक रहेको उल्लेख गर्दै नीतिगत निर्णय भए पनि कार्यान्वयन कमजोर हुँदा अपेक्षित उपलब्धि हासिल हुन नसकेको बताए। उनले निजी क्षेत्र किन लगानीमा उत्साहित हुन सकेन, बैंकिङ प्रणालीमा तरलता बढे पनि उद्योग–व्यवसायमा कर्जा किन विस्तार हुन सकेन, पुँजीबजार र वास्तविक अर्थतन्त्रबीचको सम्बन्ध किन कमजोर बन्यो तथा उत्पादन र उत्पादकत्वले अपेक्षित गति किन लिन सकेन भन्ने प्रश्नको उत्तर खोज्नुपर्ने धारणा राखे।

उनका अनुसार यिनै प्रश्नको समाधानले आगामी दशकको आर्थिक नीति र सुधारको दिशा तय गर्नेछ।

अर्थमन्त्री वाग्लेले चालु आर्थिक वर्षको बजेटलाई सामान्य वार्षिक बजेट नभई आर्थिक सुधार र संरचनागत रूपान्तरणको मार्गचित्र भएको बताए। अब नियमनको उद्देश्य नियन्त्रणमा सीमित नरही उत्पादनशील आर्थिक गतिविधि र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने हुनुपर्ने उनको भनाइ थियो।

‘हाम्रो नियमनले नवप्रवर्तनलाई रोकिरहेको छ कि प्रोत्साहन गरिरहेको छ भन्ने प्रश्नमा पनि गम्भीर समीक्षा आवश्यक छ,’ उनले भने।

सरकारले कानुनी संशोधन, संस्थागत सुधार र कार्यान्वयन प्रक्रियालाई तीव्र बनाइसकेको उल्लेख गर्दै उनले मौद्रिक नीतिमा पनि त्यत्तिकै स्पष्टता र प्रतिबद्धता आवश्यक रहेको बताए।

साथै, नेपाल राष्ट्र बैंकलाई केवल नियामक निकायका रूपमा नभई नेपालको आर्थिक रूपान्तरणको सहयात्री र सहनिर्माताका रूपमा अघि बढ्नुपर्ने उनले जोड दिए।

प्रकाशित : 5 August, 2026 11:34 am