४२ वर्षको यात्रापछि नबिलको नयाँ लक्ष्य : ‘बैंकिङ एन्ड बियोन्ड’बाट एआई–सञ्चालित वित्तीय भविष्यतर्फ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

४२ वर्षको यात्रापछि नबिलको नयाँ लक्ष्य : ‘बैंकिङ एन्ड बियोन्ड’बाट एआई–सञ्चालित वित्तीय भविष्यतर्फ




काठमाडौं । नेपालको निजी बैंकिङ इतिहासमा चार दशकभन्दा लामो यात्रा तय गरेको नबिल बैंक लिमिटेडले स्थापनाको ४२औँ वर्ष पूरा गरेको छ। वार्षिकोत्सवलाई केवल उपलब्धिको उत्सवमा सीमित नराख्दै बैंकले आगामी यात्राको केन्द्रमा डिजिटल रूपान्तरण, कृत्रिम बुद्धिमत्ता (एआई) र समग्र वित्तीय सेवा विस्तारलाई राखेको छ। बैंकले परम्परागत बैंकिङको सीमाभन्दा बाहिर गएर ‘बैंकिङ एन्ड बियोन्ड’ अवधारणालाई थप सुदृढ बनाउने घोषणा गरेको हो।
वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बैंकका अध्यक्ष निर्वाणकुमार चौधरीले नबिलको ४२ वर्षे यात्राको आधार ‘विश्वास’ रहेको बताए। उनका अनुसार ग्राहक, शेयरधनी, नियामक निकाय, साझेदार र कर्मचारीले देखाएको विश्वास नै बैंकको सबैभन्दा ठूलो सम्पत्ति हो।
उनले भने, “आज नबिल बैंक ४२ वर्षको उत्कृष्ट यात्राको साक्षी बनिरहँदा म सम्पूर्ण ग्राहक, शेयरधनी, नियामक निकाय, साझेदार र हाम्रा समर्पित कर्मचारीहरूप्रति कृतज्ञता व्यक्त गर्दछु। यो विश्वास नै हाम्रो सबैभन्दा ठूलो सम्पत्ति हो र यो नै हाम्रो भविष्यको बलियो जग बन्नेछ।”
अध्यक्ष चौधरीले विगत चार दशकमा नेपालको आर्थिक तथा औद्योगिक वातावरणमा व्यापक परिवर्तन आएको उल्लेख गर्दै नबिल बैंकले परिवर्तनको प्रतीक्षा नगरी त्यसको नेतृत्व गर्दै आएको दाबी गरे। आधुनिक बैंकिङ प्रणालीको विकासदेखि ‘एनबैंक’ एपमार्फत डिजिटल बैंकिङ विस्तारसम्म बैंकले निरन्तर नवप्रवर्तनलाई प्राथमिकतामा राखेको उनको भनाइ थियो।
उनका अनुसार नबिल अहिले नेपालको एकमात्र यस्तो वित्तीय समूह बनेको छ, जहाँ एउटै छानामुनि वाणिज्य बैंकिङ, इन्भेष्टमेन्ट बैंकिङ, स्टक ब्रोकर, मर्चेन्ट बैंकिङ, क्यापिटल मार्केट र डिजिटल बैंकिङसम्बन्धी सेवा उपलब्ध छन्। “हामीले नवप्रवर्तन केवल अपनाएका छैनौँ, यो नबिलको डीएनएमै छ,” उनले बताए।
एआईलाई केन्द्रमा राख्दै नयाँ चरणको तयारी
अध्यक्ष चौधरीले बैंकिङ क्षेत्र अहिले कृत्रिम बुद्धिमत्ता (एआई) को युगमा प्रवेश गरिसकेको उल्लेख गर्दै यसले निर्णय प्रक्रिया, जोखिम व्यवस्थापन, व्यवसाय सञ्चालन र ग्राहक अनुभवलाई नयाँ ढंगले परिभाषित गरिरहेको बताए।
उनका अनुसार नबिल बैंक यस परिवर्तनमा सहभागी मात्र होइन, नेतृत्व गर्ने लक्ष्यका साथ अघि बढिरहेको छ। ‘एनबैंक’ एपको आगामी विकासमा एआईलाई केन्द्रमा राखिने जानकारी दिँदै उनले यसबाट बैंकिङ सेवा अझ व्यक्तिगत, स्मार्ट र प्रभावकारी बन्ने विश्वास व्यक्त गरे। द्रुत कर्जा प्रवाह, उन्नत जोखिम व्यवस्थापन, उत्कृष्ट ग्राहक अनुभव, वित्तीय समावेशीकरण र साइबर सुरक्षामा समेत यसले योगदान पुर्‍याउने उनको भनाइ थियो।
उनले बैंकिङ केवल वित्तीय कारोबारमा सीमित नरही मानिसका सपना, उद्यम, परिवार र देशको समृद्धिसँग जोडिएको विषय भएको उल्लेख गरे।
सीईओ : विश्वासको यात्राबाट भविष्यतर्फ
बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार ज्ञवालीले १९८४ मा नेपालकै पहिलो प्रविधिमैत्री निजी बैंकका रूपमा सुरु भएको नबिलको यात्रा आज लाखौँ ग्राहकको विश्वास र हजारौँ कर्मचारीको समर्पणका कारण नयाँ उचाइमा पुगेको बताए।
उनले सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गर्दै आगामी दिनमा ग्राहक र राष्ट्रका लागि दिगो मूल्य सिर्जना गर्ने प्रतिबद्धता दोहोर्‍याए।
उनले भने, “हामी केवल बैंकिङ सेवा दिने संस्था होइनौँ, हामी तपाईंका सपना, सम्भावना र सफलताको यात्रामा साथ दिने भरोसायोग्य साझेदार हौँ। हाम्रो लागि यही हो ‘बैंकिङ एन्ड बियोन्ड’।”
उत्पादनशील क्षेत्रमा बढ्दो लगानी
बैंकले देशको आर्थिक विकासमा योगदान पुर्‍याउने रणनीतिक क्षेत्रलाई प्राथमिकतामा राख्दै लगानी विस्तार गरिरहेको जनाएको छ। बैंकका अनुसार कृषि क्षेत्रमा ५३ अर्ब ३१ करोड रुपैयाँ, ऊर्जा क्षेत्रमा ५१ अर्ब ६ करोड रुपैयाँ, लघु, घरेलु, साना तथा मझौला उद्योगमा ४५ अर्ब ९२ करोड रुपैयाँ तथा पर्यटन क्षेत्रमा ११ अर्ब १० करोड रुपैयाँ कर्जा लगानी गरिएको छ।
४२ वर्षमा वित्तीय सूचकांकमा उल्लेखनीय विस्तार
स्थापनापछि चार दशकको अवधिमा बैंकका वित्तीय सूचकांकमा उल्लेखनीय वृद्धि भएको छ। आर्थिक वर्ष २०४१/४२ मा २ करोड ८० लाख रुपैयाँ रहेको नेटवर्थ चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिकसम्म ७० अर्ब ८३ करोड रुपैयाँ पुगेको छ। यही अवधिमा १० लाख रुपैयाँ रहेको खुद नाफा बढेर ६ अर्ब ७६ करोड रुपैयाँ पुगेको बैंकले जनाएको छ।
त्यस्तै, १४ करोड ६० लाख रुपैयाँबाट सुरु भएको निक्षेप संकलन ५ खर्ब ८८ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ भने १३ करोड ३० लाख रुपैयाँ रहेको कर्जा प्रवाह ४ खर्ब ६४ अर्ब १० करोड रुपैयाँ पुगेको छ। कुल सम्पत्ति पनि २६ करोड ९० लाख रुपैयाँबाट बढेर ७ खर्ब १८ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ।
सेवा सञ्जालको विस्तार पनि त्यत्तिकै उल्लेखनीय रहेको बैंकले जनाएको छ। दुई शाखा र १४४ कर्मचारीबाट सुरु भएको बैंक अहिले २६४ शाखा, ३१५ एटीएम, १८ एक्सटेन्सन काउन्टर र २,४६९ कर्मचारीमार्फत २६ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ।
वार्षिकोत्सवमा ग्राहकका लागि विशेष योजना
४२औँ वार्षिकोत्सवको अवसरमा बैंकले ४२ दिनसम्म सञ्चालन हुने विभिन्न ग्राहक–केन्द्रित योजना सार्वजनिक गरेको छ। सडक विस्तारका कारण हेटौँडा र वीरगञ्ज क्षेत्रमा प्रभावित भएका सेवाग्राहीलाई लक्षित गर्दै ‘पुनर्निर्माण घर कर्जा’ योजना ल्याइएको छ, जसअन्तर्गत आधार दरमा ०.५ प्रतिशत प्रिमियम ब्याजदर थप गरी सहुलियतपूर्ण कर्जा उपलब्ध गराइनेछ।
यससँगै लकर सेक्युरिटी डिपोजिटमा ४२ प्रतिशत छुट, इलेक्ट्रोनिक पेमेन्ट गेटवे (इपीजी) को १५ हजार रुपैयाँ इन्टिग्रेसन शुल्कमा ५० प्रतिशत छुट तथा क्रेडिट कार्डको आवेदन र पहिलो वर्षको सदस्यता शुल्कमा विशेष सहुलियत उपलब्ध गराइने बैंकले जनाएको छ।
डेबिट कार्डका हकमा भने वार्षिकोत्सवकै दिन आवेदन दिने ग्राहकले चार वर्षसम्म कार्ड प्रयोग गर्न पाउने व्यवस्था गरिएको छ। यी सबै अफर ४२ दिनसम्म लागू रहने बैंकले जनाएको छ।
नबिल बैंकले हाल देशभर २६४ शाखा र ३१५ एटीएममार्फत २६ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ। पछिल्ला वर्षहरूमा दिगो बैंकिङ र डिजिटल वित्तीय सेवामा जोड दिँदै बैंकले ‘एनबैंक’ एपमार्फत डिजिटल बैंकिङ विस्तारलाई आफ्नो प्रमुख रणनीतिका रूपमा अघि बढाएको छ।

प्रकाशित : 13 July, 2026 8:10 pm