मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका–१२ ठिंगनस्थित कान्तिलोकपथ सडकखण्डमा माथिबाट ढुंगासहितको पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।
सोमबार मध्य राति करिब १२:३० बजे माथिबाट ढुंगासहितको पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको हो ।
पहिरो खसेको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय ठिंगनबाट प्रहरी सहायक निरीक्षक अर्जुन बरुवालको नेतृत्वमा चार सदस्यीय प्रहरी टोली घटनास्थल पुगेको थियो । निरन्तर वर्षा भइरहेका कारण पहिरो खस्ने क्रम नरोकिएकाले तत्काल सडक खुलाउन सम्भव नभएको प्रहरीले जनाएको छ ।
मंगलबार बिहान ५ः३० बजेदेखि ठिंगनस्थित पहिरो पन्छाउने कार्य सुरु गरी ६ः३५ बजे सडक खुलाइएको छ ।
त्यसलगत्तै बिहान ६ः४५ बजे मकवानपुरको भिमफेदी गाउँपालिका–८ भर्याङडाँडा क्षेत्रमा पनि ठूलो पहिरो खसेर कान्तिलोकपथ पुनः पूर्ण रूपमा अवरुद्ध भएको छ ।
हाल उक्त स्थानमा पहिरो हटाउने काम जारी रहेको र पहिरो ठूलो भएकाले तत्काल सडक सञ्चालनमा आउने अवस्था नरहेको प्रहरीले जनाएको छ । घटनास्थलमा सिमसिम वर्षा भइरहेकाले उद्धार तथा सडक खुलाउने कार्य प्रभावित भएको छ ।






Comment