काठमाडौ । नेपालमा इन्टरनेट प्रयोगकर्ताको संख्या निरन्तर बढ्दै गएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार एक महिनाको अवधिमा १० हजार ८४८ नयाँ ग्राहक थपिएका छन्।
प्राधिकरणका अनुसार गत चैत मसान्तसम्म ३४ लाख ७७ हजार १२४ रहेको कुल इन्टरनेट ग्राहक संख्या वैशाख मसान्तसम्म बढेर ३४ लाख ८७ हजार ९७२ पुगेको छ। यसले देशमा ब्रोडब्यान्ड इन्टरनेट सेवाप्रति आकर्षण बढ्दै गएको संकेत गरेको छ।
बजार हिस्साका आधारमा वल्र्डलिंक कम्युनिकेसन्सले आफ्नो अग्रता कायम राखेको छ। वैशाख मसान्तसम्म कम्पनीका ग्राहक संख्या १० लाख ७८ हजार ७०९ पुगेको छ, जुन चैत मसान्तको १० लाख ७३ हजार ९०३ को तुलनामा ४ हजार ८०६ ले बढी हो। यससँगै कम्पनीले कुल बजारको करिब ३१ प्रतिशत हिस्सा आफ्नो नियन्त्रणमा राख्न सफल भएको छ।
सरकारी स्वामित्वको नेपाल टेलिकमले पनि ग्राहक संख्या बढाउन सफलता हासिल गरेको छ। चैत मसान्तमा ३ लाख ८१ हजार ७२ रहेका फाइबर इन्टरनेट प्रयोगकर्ता वैशाख मसान्तसम्म बढेर ३ लाख ८३ हजार १०१ पुगेका छन्।
त्यसैगरी, भायानेट कम्युनिकेसन्सले पनि ग्राहक संख्या र बजार हिस्सा दुवै विस्तार गरेको छ। कम्पनीका ग्राहक संख्या ३ लाख ५७ हजार ७७१ बाट बढेर ३ लाख ६३ हजार ३७ पुगेको छ।
यता, डिसहोम फाइबर इन्टरनेट भने ग्राहक गुमाउने प्रमुख सेवा प्रदायक बनेको छ। चैत मसान्तमा ३ लाख ७४ हजार ३१९ ग्राहक रहेको कम्पनीको ग्राहक संख्या वैशाख मसान्तसम्म घटेर ३ लाख ६९ हजार २१८ मा सीमित भएको छ। ग्राहक संख्या घटेसँगै कम्पनीको बजार हिस्सा पनि खुम्चिएको छ। बढ्दो प्रतिस्पर्धा र सेवा विस्तारको तीव्र दौडबीच डिसहोमलाई ग्राहक जोगाउन चुनौती थपिएको देखिन्छ।
अन्य सेवा प्रदायकमध्ये क्लासिक टेकका ग्राहक संख्या २ लाख ८६ हजार ९५३ पुगेका छन् भने सुबिसु केबल नेटका ग्राहक संख्या २ लाख ६४ हजार ८४९ पुगेको छ।
सीजी कम्युनिकेसनले पनि ग्राहक विस्तारको क्रमलाई निरन्तरता दिएको छ। चैत मसान्तमा ८८ हजार ७३८ ग्राहक रहेको कम्पनीका ग्राहक संख्या वैशाखसम्म बढेर ९० हजार २०६ पुगेको छ।
त्यस्तै, वेबसर्फर नेपालका १ लाख ७३ हजार ४६२, टेकमाइन्ड नेटवर्कका १ लाख १७ हजार ७८ तथा वाइफाई नेपालका १ लाख ११ हजार ४६४ ग्राहक रहेका छन्।
देशमा डिजिटल सेवाको पहुँच र प्रयोग बढ्दै जाँदा इन्टरनेट ग्राहक संख्या पनि निरन्तर वृद्धि भइरहेको छ। घरघरमा फाइबर इन्टरनेटको विस्तार, अनलाइन शिक्षा, विद्युतीय व्यापार तथा डिजिटल मनोरञ्जनप्रतिको बढ्दो आकर्षणले इन्टरनेट सेवाको माग थप बढाएको छ। यसले आगामी दिनमा सेवा प्रदायकबीच प्रतिस्पर्धा अझ सशक्त बन्ने संकेत गरेको छ।






Comment