काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल माध्यमबाट प्रवाह हुने कर्जासम्बन्धी व्यवस्था परिमार्जन गर्दै सर्वसाधारणलाई ऋण प्राप्त गर्ने प्रक्रिया थप सहज बनाएको छ। नयाँ व्यवस्थाअनुसार ग्राहकहरूले अब बैंकमा भौतिक रूपमा उपस्थित नभई डिजिटल माध्यमबाटै कर्जाको आवेदन, स्वीकृति तथा रकम प्राप्त गर्न सक्नेछन्।
मार्गदर्शनअनुसार बैंकमा तलब वा नियमित आम्दानी जम्मा हुने खाता भएका व्यक्तिले ५ लाख रुपैयाँसम्म कर्जा लिन सक्नेछन् । जसको भुक्तानी अवधि अधिकतम तीन वर्ष रहनेछ। अन्य साधारण खाता भएका व्यक्तिका लागि २ लाख रुपैयाँसम्म डिजिटल कर्जाको व्यवस्था गरिएको छ। त्यसैगरी, साना तथा मझौला व्यवसायीले चालु पुँजीका लागि १० लाख रुपैयाँसम्म ऋण प्राप्त गर्न सक्नेछन्।
बैंक तथा वित्तीय संस्थाहरूले डिजिटल कर्जाका लागि छुट्टै पोर्टल वा मोबाइल एप सञ्चालन गर्नुपर्नेछ। कर्जाको आवेदनदेखि रकम खातामा जम्मा हुने सम्पूर्ण प्रक्रिया विद्युतीय माध्यमबाटै सम्पन्न हुनेछ। यसका लागि बैंकहरूले भुक्तानी सेवा प्रदायक तथा प्रविधि सेवा प्रदायकहरूसँग सहकार्य गर्न सक्नेछन्।
ग्राहक सुरक्षालाई ध्यानमा राख्दै राष्ट्र बैंकले ग्राहकको अनुमति बिना व्यक्तिगत तथा वित्तीय जानकारी अन्य प्रयोजनमा प्रयोग गर्न नपाइने व्यवस्था गरेको छ। साथै, डिजिटल कर्जा प्रवाह गर्दा सेवा शुल्कबाहेक कुनै अतिरिक्त वा लुकेका शुल्क लिन नपाइने प्रावधान पनि राखिएको छ।






Comment