कोरला नाकाबाट भित्रिएका ६४९ विद्युतीय सवारी वैधानिक रहेको प्रारम्भिक निष्कर्ष « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

कोरला नाकाबाट भित्रिएका ६४९ विद्युतीय सवारी वैधानिक रहेको प्रारम्भिक निष्कर्ष



काठमाडौं। मुस्ताङस्थित कोरला नाकाबाट नेपाल भित्रिएका ६४९ थान विद्युतीय सवारी साधन कानुनी प्रक्रिया पूरा गरी जाँचपास गरिएको पाइएको छानबिन समितिले प्रारम्भिक निष्कर्ष निकालेको छ।

अर्थ मन्त्रालयको निर्देशनमा गठित समितिले स्थलगत अनुगमन तथा सम्बन्धित कागजातहरूको सूक्ष्म अध्ययनपछि ती सवारी साधनमा कुनै प्रकारको अनियमितता नदेखिएको जनाएको हो। प्रारम्भिक निष्कर्षअनुसार ६४९ वटा सवारी साधन जेठ १२ र १३ गते भन्सार जाँचपास भई नेपाल प्रवेश गरेका थिए। जेठ १४ गतेसम्म सम्बन्धित भन्सार अधिकृत काठमाडौं फर्किसकेको अवस्थामा “यार्डमा सवारी नपुग्दै जाँचपास गरिएको” भन्ने आरोप तथ्यसँग मेल नखाने देखिएको समितिका सदस्यहरूले बताएका छन्।

राजस्व छलीको आशंकामा नियन्त्रणमा लिइएका ती सवारी साधनबारे छानबिन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको विशेष निर्देशनमा संयुक्त छानबिन समिति गठन गरिएको थियो। उक्त समितिमा अर्थ मन्त्रालय, भन्सार विभाग, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका प्रतिनिधिहरू संलग्न छन्।

अर्थ मन्त्रालयअन्तर्गत भन्सार विभागको नीति तथा सञ्चालन महाशाखा, मूल्यांकन शाखा प्रमुख निर्देशक भुपालराज शाक्यको नेतृत्वमा गठित तीन सदस्यीय प्राविधिक टोलीले स्थलगत अध्ययनसहित छानबिन प्रक्रिया अघि बढाएको हो।

टोलीको प्रारम्भिक प्रतिवेदनअनुसार कोरला नाकाबाट भित्रिएका उक्त सवारी साधनमा भन्सार प्रक्रियागत दृष्टिले कुनै कैफियत फेला नपरेको स्पष्ट गरिएको छ। तथापि, कुनै अनियमितता पुष्टि नभए पनि सशस्त्र प्रहरीले माथिल्लो निकायको स्पष्ट निर्देशन प्राप्त नभएसम्म सवारी साधन नछोड्ने अडान कायम राखेको जनाइएको छ।

छानबिन टोलीले मुस्ताङ पुग्नुअघि पर्वत र कास्कीका विभिन्न स्थानमा समेत नियन्त्रणमा रहेका सवारी साधनहरूको अनुगमन गरेको थियो। पोखराको हेम्जामा ९८ थान तथा पर्वतको कुश्मामा १७ थान विद्युतीय सवारी साधनको स्थलगत निरीक्षण गरिएको थियो।

त्यसैगरी कोरला नाकाबाट भन्सार जाँचपास भई लोमान्थाङ हुँदै जोमसोमसम्म ल्याइएका २६६ थान सवारी साधनको समेत स्थलगत अध्ययन गरिएको समितिले जनाएको छ। समग्र अनुगमन तथा कागजात परीक्षणबाट ती सबै सवारी साधन विधिसम्मत रूपमा नेपाल भित्रिएको देखिएको समितिको निष्कर्ष छ।

प्रकाशित : 9 June, 2026 1:17 pm