काठमाडौँ । नेपाल राष्ट्र बैंकका दुई डेपुटी गभर्नर पद तीन सातादेखि रिक्त रहेपछि आज त्यसको टुंगो लाग्ने सम्भावना बढेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा आज अपराह्न ४ बजे बस्ने मन्त्रिपरिषद् बैठकले नयाँ डेपुटी गभर्नर नियुक्त गर्ने तयारी गरेको छ।
अघिल्लो सरकारले नियुक्ति प्रक्रिया अघि नबढाई नयाँ सरकारलाई जिम्मा दिएपछि हालको सरकारले यसलाई प्राथमिकतामा राखेको हो। सोही क्रममा आइतबार अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र गभर्नर विश्वनाथ पौडेलबीच आवश्यक छलफल भइसकेको छ। गभर्नरले रिक्त पदका लागि नामहरू सिफारिस गरिसकेको बताइएको छ।
प्रचलित कानुन अनुसार गभर्नरले कार्यकारी निर्देशकमध्येबाट चार जनाको नाम सिफारिस गर्ने व्यवस्था छ भने मन्त्रिपरिषद्ले तीमध्येबाट दुई जनालाई डेपुटी गभर्नरमा नियुक्त गर्नेछ। हाल राष्ट्र बैंकमा १८ जना कार्यकारी निर्देशक कार्यरत छन्। जसलाई यस पदका सम्भावित दाबेदारका रूपमा हेरिएको छ।
सिफारिसको सूचीमा पर्न सक्ने सम्भावित कार्यकारी निर्देशकहरूमा नरेश शाक्य, रेवती नेपाल, रामु पौडेल, विश्रुत थापा, दयाराम शर्मा, गुरुप्रसाद पौडेल, किरण पण्डित, डा. सत्येन्द्र तिमल्सिना, चेतप्रसाद उप्रेती, रोशनकुमार सिग्देल, डा. रामशरण खरेल, डा. डिल्लीराम पोखरेल, दीर्घबहादुर रावल, निश्चल अधिकारी, अनुज दाहाल, दीपकराज लामिछाने, राजनविक्रम थापा र राजेन्द्र भट्टराई रहेका छन्।






Comment