काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडका केही संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्रीका लागि निवेदन दिएपछि कम्पनीले १५ दिने सार्वजनिक सूचना जारी गर्दै संस्थापक सेयर बिक्री प्रक्रिया अघि बढाएको छ । कम्पनीका ६ जना संस्थापक सेयरधनीले कुल १४ हजार ५ सय कित्ता संस्थापक सेयर बिक्रीका लागि आवेदन दिएका हुन्।
विवरणअनुसार नारायण राज पन्तले ५ हजार कित्ता, राजकुमार राईले ३ हजार कित्ता, टेकबहादुर रञ्जन मगरले ५ सय कित्ता, पुण्य प्रसाद पौडेलले २ हजार कित्ता, मुक्तिराम पौडेलले ३ हजार कित्ता तथा केदारनाथ न्यौपानेले १ हजार कित्ता सेयर बिक्री गर्न प्रस्ताव गरेका छन्।
यसअघि कम्पनीले विद्यमान संस्थापक सेयरधनीलाई प्राथमिकता दिँदै ३५ दिने सूचना प्रकाशित गरेको थियो। तर तोकिएको अवधिमा अन्य संस्थापक सेयरधनीबाट सेयर खरिदका लागि आवेदन नपरेपछि अब ती सेयर अन्य व्यक्ति वा संस्थालाई समेत बिक्री गर्न सकिने गरी सूचना जारी गरिएको कम्पनीले जनाएको छ।
सूचनाअनुसार इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवश्यक कागजातसहित कम्पनीको केन्द्रीय कार्यालय पनौती नगरपालिका–४, काभ्रेपलाञ्चोकमा वा सेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड, काठमाडौंमा आवेदन दिन सक्नेछन्। आवेदन दिँदा आफूले खरिद गर्न चाहेको सेयर संख्या स्पष्ट रूपमा उल्लेख गर्नुपर्ने कम्पनीले जनाएको छ।






Comment