काठमाडाैं । नेपाल राष्ट्र बैंकले सरकारी चेकबाट रकम भुक्तानीमा नयाँ व्यवस्था ल्याएको छ। केन्द्रीय बैंकले सरकारी कारोबार निर्देशिका, २०७६ (दोस्रो संशोधन २०८१)को परिच्छेद ५ को ५.१६.१ मा रहेको चेकबाट रकम भुक्तानीसम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न थप केही प्रावधान ल्याएको हो।
नयाँ व्यवस्था बमोजिम अब सरकारी खाताहरुबाट रकम भुक्तानी गर्दा वित्तीय भुक्तानी प्रणाली वा अकाउन्ट पेयी चेकमार्फत गर्नुपर्नेछ। यो व्यवस्था लागू गर्न केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ।
राष्ट्र बैंकले समय–समयमा जारी गर्ने निर्देशनबमोजिम ती व्यवस्थाहरु परिवर्तन हुन सक्नेछन्।
यस्ताे छ नयाँ प्रावधान
नेपाल राष्ट्र बैंक वा वाणिज्य बैंकहरुले खिच्ने चेकको अग्रभागको माथिपट्टिको खाली स्थानमा अनिवार्य रुपमा चेक राइटर, चेक जाँच, चेक प्रोटेक्टर वा रिबन राइटर लगाउनुपर्नेछ।
कार्यालयको नाममा खिचिएको चेक सम्बन्धित कार्यालय आफैँले खातामा जम्मा गर्न पठाउँदा सम्बन्धित कार्यालयको प्रस्ट बुझिने छाप बैंकको पछाडि अनिवार्य रुपमा लगाएको हुनुपर्नेछ। तर, सम्बन्धित कार्यालयका लागि अन्य व्यक्ति, फर्म, कम्पनी वा संस्थाले त्यस्तो चेक खातामा जम्मा गरिदिँदा भने छाप लगाउन अनिवार्य हुने छैन।
क्लियरिङमार्फत प्राप्त चेकको रकम जसको नाममा चेक खिचिएको हो, उसैको नामको खातामा जम्मा गर्नुपर्नेछ।






Comment