काठमाडौंको कोटेश्वरमा फेसन तथा इन्टेरियर डिजाइनिङ कलेज सञ्चालनमा आएको छ । करिब एक दशकदेखि फेसन डिजाइनिङको क्षेत्रमा काम गरिरहेकी सुक्निता चौलागाईंसहितको टिमले ‘भ्यालेन्टिनो इन्टरनेसनल कलेज अफ फेसन एन्ड इन्टेरियर’ कलेज सञ्चालनमा ल्याएको हो । सन र इन्टेरियर डिजाइनमा करिअर बनाउन चाहने युवायुवतीलाई सर्वसुलभ रूपमा व्यावसायिक ज्ञान र सीप प्रदान गर्ने उद्देश्यले कलेज सञ्चालनमा ल्याइएको सञ्चालिका सुक्निता चौलागाईंले जानकारी दिइन् । यसका लागि एकवर्षे डिप्लोमा कोर्स तयार पारिएको छ ।
‘मेरो आफ्नै पनि फेसन डिजाइनमा एक दशकको अनुभव छ । नेपालमा प्राक्टिकल्ली फेसन तथा इन्टेरियर डिजाइन पढाइ हुने कलेज कम छन् । हामीले लन्च गरेको एकवर्षे कोर्सले युथहरूलाई आफ्नो एकेडेमिक पढाइलाई असर नपर्नेगरी आफ्नो सपना पूरा गर्न मद्दत पुर्याउँछ भन्ने हो,’ चौलागाईंले रातोपाटीसँग भनिन्, ‘फेसन कलेज हाम्रो ड्रिम प्रोजेक्ट हो । युवाहरूको सपना पूरा गर्न सकिन्छ भन्ने उद्देश्य पनि हो ।
फेसन डिजाइनिङ, बुटिक म्यानेजमेन्ट, ड्रपिङ एन्ड स्टिचिङ, स्टाइलिङ लगायत छुट्टाछुट्टै कोर्स तयार पारिएको छ । त्यसका लागि उत्कृष्ट शिक्षक तथा डिजाइनरहरूले सैद्धान्तिकका साथै प्रयोगात्मक कक्षा लिनेछन् । यो कोर्स अध्ययन गर्ने विद्यार्थीले फेसन डिजाइनर, बुटिक सञ्चालक, स्टाइलिस्ट र प्याटर्न मेकरको रूपमा करिअर अगाडि बढाउन सक्ने चौलागाईं बताइन् । ‘अहिले नेपालीहरूमा फेसन सेन्स निकै बढेको छ । सेलेब्रिटी कलाकार मात्रै होइन, नेतादेखि सर्वसाधारणसम्मलाई राम्रो र स्मार्ट देखिने चाहना बढेको देखिन्छ,’ उनले भनिन्, ‘यसले पनि फेसन डिजाइनिङको क्षेत्रमा करिअर कति फराकिलो छ भन्ने देखाउँछ ।’

चौलागाईंले कोटेश्वरमै आठ वर्षदेखि ‘भ्यालेन्टिनो द बुटिक’ सञ्चालन गरिरहेकी छिन् । उनले डिजाइन गरेका पहिरनहरू र्याम्प, नेपाली फिल्म र म्युजिक भिडियोमा निकै रूचाइएका छन् ।





Comment