राष्ट्र बैंकद्वारा भर्चुअल एसेट्स सम्बन्धी प्रतिवेदन सार्वजनिक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८२ पुस

बैंक / वित्त

राष्ट्र बैंकद्वारा भर्चुअल एसेट्स सम्बन्धी प्रतिवेदन सार्वजनिक



काठमाडौं । नेपाल राष्ट्र बैंकअन्तर्गतको वित्तीय जानकारी इकाइले बिहीबार भर्चुअल एसेट्स सम्बन्धी रणनीतिक विश्लेषण प्रतिवेदन–२०२५ सार्वजनिक गरेको छ। प्रतिवेदनमा नेपालमा भर्चुअल एसेट्स र यससँग सम्बन्धित गतिविधिबाट उत्पन्न हुने सम्पत्ति शुद्धीकरण, आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानी तथा आम विनाशकारी हातहतियार निर्माण वा विस्तारमा हुने वित्तीय लगानी सम्बन्धी जोखिमहरूको विश्लेषण गरिएको छ।

वित्तीय जानकारी इकाइले सन् २०२१ जनवरीदेखि २०२५ जुलाईसम्म प्राप्त शङ्कास्पद कारोबार तथा गतिविधि प्रतिवेदन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्रोतबाट प्राप्त तथ्याङ्क र अन्तर्राष्ट्रिय रणनीतिक विश्लेषणका आधारमा प्रतिवेदन तयार गरेको जनाएको छ।

प्रतिवेदनले कुनै विशेष व्यक्ति, संस्था वा मुद्दामा केन्द्रित नभई भर्चुअल एसेट्सको दुरुपयोगका विधि, प्रवृत्ति, ढाँचा र जोखिमका संकेतहरू पहिचानमा जोड दिएको छ। विश्लेषणअनुसार नेपालमा भर्चुअल एसेट्ससम्बन्धी गतिविधि कानुनी रूपमा निषेधित भए पनि यस्ता गतिविधि हुन्डी कारोबार, अनलाइन ठगी, अनलाइन जुवा, व्यवसायको वास्तविक प्रकृति लुकाएर गरिने कारोबार तथा मनी–म्युलको प्रयोग जस्ता आपराधिक क्रियाकलापसँग जोडिएको देखिएको छ।

प्रतिवेदनले भर्चुअल एसेट्ससम्बन्धी अनुसन्धान तथा नियन्त्रणमा देखिएका प्राविधिक जटिलता, सीमापार अधिकार क्षेत्रका समस्या र जफत तथा व्यवस्थापनसम्बन्धी कठिनाइ पनि औंल्याएको छ। साथै, सूचक संस्थाहरू, नियामक निकाय तथा कानुन कार्यान्वयन गर्ने निकायका लागि जोखिममा आधारित निगरानी, अन्तरनिकाय समन्वय र प्राविधिक क्षमता अभिवृद्धि गर्न सुझाव दिएको छ।

त्यसैगरी, प्रतिवेदनमा नेपालमा भर्चुअल एसेट्ससम्बन्धी कुनै पनि किसिमको कारोबार, प्रयोग, स्थानान्तरण वा लगानी प्रचलित कानुनअनुसार पूर्ण रूपमा निषेधित रहेको पनि स्पष्ट पारिएको छ। यस्ता गतिविधिमा संलग्न व्यक्ति वा संस्थाविरुद्ध कानुनबमोजिम अनुसन्धान, रोक्का, जफत तथा अभियोजन प्रक्रिया अघि बढ्न सक्ने जनाइएको छ।

https://drive.google.com/file/d/178B5nwqS2ZvQSJH8hzxpt5_5mfKRkGdh/preview

प्रकाशित : 1 January, 2026 2:10 pm