शिखर इन्स्योरेन्सको लापरवाहीले जुम्लाका स्याउ किसान संकटमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

शिखर इन्स्योरेन्सको लापरवाहीले जुम्लाका स्याउ किसान संकटमा



शिखर इन्स्योरेन्स कम्पनीको जुम्ला शाखाले स्याउ बीमा गरेका धेरै किसानका बगैँचाको समयमै अनुगमन नगर्दा जिल्लाका स्याउ उत्पादक किसान समस्यामा परेका छन्।

कम्पनीले दुई वर्षअघि गरिएको बीमाबापतको क्षतिपूर्ति रकम हालसम्म भुक्तानी नगरेपछि करिब चार हजार किसान प्रभावित भएको बीमित पक्षको भनाइ छ। किसानका अनुसार, कम्पनीले प्रारम्भिक मूल्याङ्कनका क्रममा केही बगैँचाको लागत सङ्कलन गरेर कागजात अगाडि बढाए पनि भुक्तानी प्रक्रियामा अनावश्यक ढिलाइ गरिरहेको छ।

लागत सङ्कलनबाट छुटेका किसानका बगैँचाको अहिलेसम्म पुनः अनुगमन नहुँदा बीमा दाबी प्रक्रिया अन्योलमा परेको छ। जुम्लाका करिब पाँच हजार स्याउ किसानले बीमा गरे पनि लामो समयसम्म रकम नपाउँदा उनीहरू आक्रोशित बनेका छन्। भुक्तानी ढिलाइप्रति चिन्ता व्यक्त गर्दै किसानहरू खलङ्गा बजारस्थित शिखर इन्स्योरेन्सको कार्यालयमा दिनहुँ धाउने गरेका छन्।

तीला गाउँपालिका–२ का स्थानीय राम रावतले श्रीमतीको नाममा २०० स्याउका बिरुवाको बीमा गर्दा नौ हजार रुपैयाँ तिरेको बताए। उनका अनुसार, बीमा कम्पनीका कर्मचारी अन्य किसानका बगैँचा अनुगमन गर्न आए पनि उनको बगैँचामा नआउँदा भुक्तानी पाउन कठिन भएको छ। “कम्पनीकै कमजोरीका कारण किसान मारमा परेका छौँ, यसको सुनुवाइ हुनुपर्छ,” उनले भने।

त्यस्तै, तीला गाउँपालिका–१ रारा निवासी सुन्दरी पाण्डे (रावत) ले २५० बिरुवाको बीमा गर्दा नौ हजार रुपैयाँ तिरेको तर सबै कागजात बुझाउँदा पनि रकम नपाएको गुनासो गरिन्। कम्पनीमा बुझ्दा बगैँचा अनुगमन नभएको भन्दै गैरजिम्मेवार जवाफ पाएको उनको भनाइ छ।

कम्पनीको निर्देशनअनुसार छुटेका बीमितको तर्फबाट वडाको सिफारिससहित निवेदन दिएको एक हप्ता बितिसक्दा पनि कुनै प्रगति नदेखिएकोमा उनले असन्तुष्टि व्यक्त गरिन्।

बीमित किसानबाट आइरहने गुनासोबारे कम्पनीका कर्मचारीले केन्द्रीय कार्यालयबाट फाइल स्वीकृत भएर आउनेबित्तिकै भुक्तानी गरिने जानकारी दिएका छन्। यसैबीच, जुम्लास्थित शिखर इन्स्योरेन्सका कार्यालय प्रमुख लक्ष्मण काफ्लेले अनुगमनका क्रममा सम्पर्कमा नआएका किसानलाई तत्काल भुक्तानी दिन नसकिएको स्पष्ट पारे। उनले व्यक्तिगत निवेदन र वडाको सिफारिसका आधारमा पुनः अनुगमन गरी सबै किसानलाई बीमाबापतको रकम उपलब्ध गराइने प्रतिबद्धता जनाए।

कम्पनीका अनुसार, जुम्लामा कुल पाँच हजार ३७९ किसानले स्याउ बीमा गरेकामा हालसम्म ६५५ जनाले मात्र क्षतिपूर्ति पाएका छन्। ९४७ जनाको प्रक्रिया पूरा भई भुक्तानीको चरणमा रहेको र बाँकी किसानका बगैँचाको पुनः अनुगमन गरेर सबैलाई रकम उपलब्ध गराइने बताइएको छ।

प्रकाशित : 18 December, 2025 6:00 pm