काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले लाभांश प्रस्ताव पारित गर्ने उद्देश्यले मंसिर २९ गते ३९औँ वार्षिक साधारण सभा आह्वान गरेको छ। बैंकको सञ्चालक समितिको मंसिर ४ गते बसेको बैठकले उक्त सभा काठमाडौंमा बिहान १० बजे गर्ने निर्णय भएको हो।
बैंकले आर्थिक वर्ष २०८१/८२ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको करसहित १९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेश गर्न लागेको छ।
सभामा सञ्चालक समितिका सदस्यहरूको भत्ता तथा सुविधा वृद्धि गर्ने प्रस्तावसहित सम्बन्धित नियमावली संशोधनका एजेन्डा पनि रहनेछन्। त्यस्तै, आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन प्रस्तुत गरिनेछ र चालु आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गरिनेछ।
लाभांश तथा साधारण सभा प्रयोजनका लागि बैंकले मंसिर १६ गते बुकक्लोज गर्ने निर्णय गरेको छ। त्यसअनुसार मंसिर १५ गतेसम्म स्टकमार्केटमा कारोबार भई नामावलीमा रहेका सेयरधनीहरू सभामा सहभागी हुन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।





Comment