मोदी इनर्जी लिमिटेडको घाटा बढ्दै, आम्दानीमा ३६ प्रतिशतको गिरावट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

मोदी इनर्जी लिमिटेडको घाटा बढ्दै, आम्दानीमा ३६ प्रतिशतको गिरावट



काठमाडौं । मोदी इनर्जी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा अघिल्लो वर्षको तुलनामा झन् ठूलो घाटा व्यहोरेको छ। कम्पनीले सार्वजनिक गरेको वित्तीय प्रतिवेदनअनुसार, यस अवधिसम्म कम्पनी ४ करोड ११ लाख रुपैयाँ घाटामा पुगेको हो।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको घाटा १ करोड ३१ लाख रुपैयाँ मात्र थियो। विद्युत् बिक्रीबाट कम्पनीले यस त्रैमाससम्म ८ करोड ९४ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो वर्षको सोही अवधिमा भएको १४ करोड १७ लाख रुपैयाँको तुलनामा ३६.८७ प्रतिशतले कम हो।

आम्दानी घटेपनि कम्पनीले प्रशासनिक, बिक्री तथा वितरण खर्च घटाउन सफल भएको देखिन्छ। यो शीर्षकमा कम्पनीले १० लाख ९६ हजार रुपैयाँ खर्च गरेको छ, जबकि अघिल्लो वर्ष यसै अवधिमा १४ लाख ९८ हजार रुपैयाँ खर्च भएको थियो।

वित्त खर्च पनि घट्दै ६ करोड २३ लाख रुपैयाँमा सीमित भएको छ। जुन अघिल्लो वर्षको तुलनामा २८‍.०७ प्रतिशतले कम हो। यद्यपि सञ्चालन मुनाफा पनि घट्दै ८ करोड ८३ लाख रुपैयाँमा सीमित भएको छ। जसमा ३६.९८ प्रतिशतले गिरावट आएको छ।

कम्पनीको रिजर्भ स्थिति भने अझै ऋणात्मक छ। समीक्षा अवधिसम्म कम्पनीको रिर्जभ १ अर्ब १६ करोड रुपैयाँ ऋणात्मक अवस्थामा रहेको छ। त्यसैगरी, कम्पनीको प्रतिसेयर आम्दानी (वार्षिक इपीएस) ५.६८ रुपैयाँले ऋणात्मक, प्रतिसेयर नेटवर्थ ५९.७९ रुपैयाँ, तरलता अनुपात ०.३१ प्रतिशत र मूल्य आम्दानी अनुपात (पीरई रेसियो) ४७.३७ गुणा ऋणात्मक अवस्थामा रहेको प्रतिवेदनमा उल्लेख छ।

प्रकाशित : 10 November, 2025 1:33 pm