आरएसडिसी लघुवित्तको नाफा २ करोड ११ लाख रुपैयाँ, अन्य सूचक कस्तो छ ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

आरएसडिसी लघुवित्तको नाफा २ करोड ११ लाख रुपैयाँ, अन्य सूचक कस्तो छ ?



काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार लघुवित्तले २ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९.१२ प्रतिशत कम हो।

गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले २ करोड ६० लाख रुपैयाँ यस्तो नाफा कमाएको थियो। समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३०.०४ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ४१.२८ प्रतिशत घटेको छ। त्यस्तै, लघुवित्तको कुल सञ्चालन आम्दानी ३०.६१ प्रतिशत र सञ्चालन मुनाफा १९.१२ प्रतिशत घटेको छ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासको अन्त्यसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा ९ करोड ९३ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ३८ रुपैयाँ ४३ पैसा रहेको छ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी २ रुपैयाँ ८९ पैसा घटेर ८ रुपैयाँ १६ पैसामा झरेको छ। असोज मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ७३.०६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२८ रुपैयाँ ४ पैसा रहेको छ।

१ अर्ब ३ करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा २८ करोड ९९ लाख रुपैयाँ सञ्चित छ। पहिलो तीन महिनासम्ममा लघुवित्तले ५ अर्ब १५ करोड ५७ लाख रुपैयाँ सापटीबाट ५ अर्ब ५७ करोड ७० लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

प्रकाशित : 3 November, 2025 10:20 am