दुई महिनामा वाणिज्य बैंकको साढे १६ अर्ब नाफा, ग्लोबल आइएमई बैंक अग्रस्थानमा  « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

दुई महिनामा वाणिज्य बैंकको साढे १६ अर्ब नाफा, ग्लोबल आइएमई बैंक अग्रस्थानमा 



काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा वाणिज्य बैंकहरूले कुल १६ अर्ब ५९ करोड ८७ लाख रुपैयाँभन्दा बढी नाफा आर्जन गरेका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ताजा तथ्याङ्क अनुसार हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूले साउन र भदौ महिनाको अवधिमा यो नाफा कमाएका हुन्।

तर, यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.१८ प्रतिशतले घटेको छ। गत वर्षको पहिलो दुई महिनामा वाणिज्य बैंकहरूको संयुक्त नाफा १७ अर्ब ६९ करोड २१ लाख रुपैयाँ पुगेको थियो। यस अवधिमा १० बैंकको नाफा घटेको छ भने बाँकी १० बैंकले नाफा वृद्धि गर्न सफल भएका छन्।

सबैभन्दा बढी नाफा कमाउने बैंकको सूचिमा ग्लोबल आइएमई बैंक अग्रस्थानमा रहेको छ। साउन–भदौ अवधिमा ग्लोबलको नाफा ३.९७ प्रतिशतले बढ्दै १ अर्ब ६२ करोड ८२ लाख रुपैयाँ पुगेको छ। त्यसपछि दोस्रो स्थानमा नबिल बैंक रहेको छ, जसले १ अर्ब ३२ करोड ७१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। तर, यो नाफा अघिल्लो वर्षको सोही अवधिभन्दा २०.०९ प्रतिशतले कम हो।

तेस्रो स्थानमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहेको छ, जसले १ अर्ब २६ करोड ४४ लाख रुपैयाँ नाफा कमाएको छ। गत वर्षको सोही अवधिको तुलनामा यस बैंकको नाफा १०.५१ प्रतिशतले घटेको छ।

यस अवधिमा सिद्धार्थ बैंक र एनएमबि बैंक नाफा वृद्धिमा अग्रसर देखिएका छन्। सिद्धार्थ बैंकको नाफा ४०.१८ प्रतिशतले बढेर ८४ करोड ९० लाख रुपैयाँ पुगेको छ भने एनएमबि बैंकको नाफा ३२ प्रतिशतले बढ्दै १ अर्ब ३ करोड रुपैयाँ पुगेको छ।

अन्य बैंकमध्ये कुमारी बैंकको नाफा २.६० प्रतिशतले घटेर १ अर्ब ५ करोड ६८ लाख रुपैयाँमा पुगेको छ। प्राइम बैंकले भने ७.३९ प्रतिशत नाफा वृद्धि गर्दै १ अर्ब ४ करोड रुपैयाँ आर्जन गरेको छ।

त्यस्तै, दुई महिनामा लक्ष्मी सनराइज बैंकले ९७ करोड ४१ लाख, एभरेष्ट बैंकले ९१ करोड २८ लाख, आरबीबी बैंकले ८८ करोड ५८ लाख, नेपाल बैंकले ८४ करोड, सानिमा बैंकले ७२ करोड, प्रभु बैंकले ६७ करोड, कृषि विकास बैंकले ५८ करोड, सिटिजन्स बैंकले ५५ करोड, स्ट्यान्डर्ड चार्टर्ड बैंकले ५३ करोड, एनआईसी एशिया बैंकले ४९ करोड, माछापुच्छ्रे बैंकले ४८ करोड, हिमालयन बैंकले ३७ करोड र नेपाल एसबिआई बैंकले ३५ करोड रुपैयाँ नाफा कमाएका छन्।

प्रकाशित : 17 October, 2025 6:29 pm