गभर्नर पौडेल सार्क केन्द्रीय बैंक गभर्नरहरूको बैठकमा सहभागी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

गभर्नर पौडेल सार्क केन्द्रीय बैंक गभर्नरहरूको बैठकमा सहभागी



काठमाडाैँ । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेल अमेरिकाको वासिङ्टन डीसीमा आयोजित सार्कफाइनान्स गभर्नर्स ग्रुप मिटिङ (SAARCFINANCE Governors’ Group Meeting) मा सहभागी भएका छन्। उक्त बैठक विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) को वार्षिक बैठकका अवसरमा १४ अक्टोबर २०२५ मा आयोजना गरिएको थियो।

बैठकको अध्यक्षता बङ्गलादेश बैंकका गभर्नर डा. असान एच. मन्सुर ले गर्नुभएको थियो। कार्यक्रममा दक्षिण एसियाली मुलुकका केन्द्रीय बैंकका गभर्नर, डेपुटी गभर्नर, अर्थ मन्त्रालयका अधिकारी तथा अन्य उच्च प्रतिनिधिहरूको सहभागिता थियो।

बैठकलाई सम्बोधन गर्दै गभर्नर पौडेलले नेपालको हालको आर्थिक अवस्थाबारे जानकारी दिँदै मुद्रास्फीति र बाह्य क्षेत्रका सूचकहरू सहज अवस्थामा रहेको बताउनुभयो। उहाँले हालको राजनीतिक परिस्थितिका कारण वित्तीय सन्तुलन र दिगो आर्थिक वृद्धिमा केही चुनौती थपिएको उल्लेख गर्दै ती चुनौतीलाई सम्बोधन गर्न नीतिगत सहजीकरणका प्रयासहरू अघि बढाइएका छन् भनेर स्पष्ट पार्नुभयो।

बैठकमा क्षेत्रीय आर्थिक सहकार्य, वित्तीय समावेशीकरण, करेन्सी स्वापको सम्भावना, साझा अनुसन्धान तथा तथ्याङ्क प्रणाली, सार्क छात्रवृत्ति र आगामी कार्यदिशा लगायतका विषयमा गहन छलफल भएको थियो। सहभागी गभर्नरहरूले सार्क राष्ट्रबीच आर्थिक तथा वित्तीय समन्वय र सहकार्यलाई अझ सुदृढ गर्नुपर्ने आवश्यकता औंल्याएका थिए।

नेपाल राष्ट्र बैंकका तर्फबाट गभर्नर पौडेलसँगै डा. रामशरण खरेल, आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक, र शरणकुमार अधिकारी, गभर्नरको कार्यालयका निर्देशक पनि सहभागी थिए।

SAARCFINANCE सन् १९९८ मा स्थापना भएको क्षेत्रीय सञ्जाल हो, जसले दक्षिण एसियाली राष्ट्रहरूबीच समष्टिगत आर्थिक नीति र वित्तीय सहकार्य प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ। सन् २००२ मा काठमाडौंमा सम्पन्न ११औं सार्क शिखर सम्मेलनले यस सञ्जाललाई औपचारिक मान्यता दिएको थियो।

प्रकाशित : 16 October, 2025 1:02 pm