काठमाडौं। डिजिटल भुक्तानीलाई विस्तार र नगद कारोबार घटाउने उद्देश्यले नेपाल राष्ट्र बैंकले एटीएमबाट पैसा झिक्ने सीमामा कडाइ गरेको छ। नयाँ व्यवस्थाअनुसार अब कुनै पनि बैंकको एटीएमबाट एक पटकमा अधिकतम २० हजार रुपैयाँ मात्र निकाल्न सकिनेछ।
यससँगै, प्रयोगकर्ताले दैनिक रूपमा अधिकतम २० हजार रुपैयाँ र मासिक रूपमा तीन लाख रुपैयाँ सम्म मात्र झिक्न पाउनेछन्। यसअघि एउटै कार्ड प्रयोग गरी एक पटकमा २५ हजार, दैनिक रूपमा एक लाख र मासिक रूपमा चार लाख रुपैयाँ सम्म निकाल्न पाइन्थ्यो।
राष्ट्र बैंकले बिहीबार बैंक तथा वित्तीय संस्थाहरूलाई पठाएको नयाँ सर्कुलरमार्फत यो व्यवस्था लागू गर्न निर्देशन दिएको हो। सर्कुलरमा बैंकहरूलाई डेबिट कार्डमार्फत हुने नगद कारोबार घटाउन र QR, मोबाइल बैंकिङ वा अनलाइन पेमेन्ट प्रणाली प्रयोगलाई प्राथमिकता दिन सुझाव दिइएको छ।
केन्द्रीय बैंकका अनुसार, पछिल्ला वर्षहरूमा डिजिटल भुक्तानीको प्रयोग बढ्दै गएको छ, तर अझै पनि ठूलो भागको कारोबार नगदमै सीमित छ। त्यसलाई व्यवस्थित र सुरक्षित बनाउने लक्ष्यसहित एटीएम सीमामा परिमार्जन गरिएको बताइएको छ।
यस नीतिले तत्कालका लागि केही प्रयोगकर्तालाई असुविधा पुर्याए पनि, दीर्घकालमा डिजिटल अर्थतन्त्रलाई मजबुत बनाउने अपेक्षा गरिएको छ।





Comment