काठमाडौं । वाणिज्य बैंकहरूले घरकर्जा बजारमा तीव्र प्रतिस्पर्धा थालेका छन्। ब्याजदर क्रमशः घट्दै जाँदा बैंकहरूले ग्राहक तान्न नयाँ स्किमहरू सार्वजनिक गरिरहेका छन्। अहिले औसत ७ प्रतिशत हाराहारीको स्थिर ब्याजदरमा घर निर्माण वा खरिदका लागि ऋण पाउन सकिने अवस्था बनेको छ।
नबिल बैंकले ७ र १० वर्ष अवधिका लागि क्रमशः ६.९९ र ७.४४ प्रतिशत ब्याजदरमा कर्जा दिइरहेको छ, जुन बजारमै सबैभन्दा कम दर हो। ग्लोबल आइएमई बैंकले ७.९९ प्रतिशत दर तोकेको छ भने एम्बेसि बैंकको दर ८.५० प्रतिशत रहेको छ।
माछापुच्छ्रे बैंकले ५ देखि १० वर्षभन्दा बढी अवधिका लागि ७.५० देखि ८.५० प्रतिशत ब्याजदर तोकेको छ। लक्ष्मी सनराइज बैंकले १५ वर्ष अवधिको कर्जामा ८.४४ देखि ११.९९ प्रतिशत दर निर्धारण गरेको छ।
कुमारी बैंकले १० वर्षका लागि ७.५९ प्रतिशत ब्याजदर तोकेको छ। नेपाल बैंकले ५ र १० वर्ष अवधिका लागि ७.१० र ८.११ प्रतिशत लिँदैछ भने एमआईबीएल एशियाले १० वर्ष अवधिको कर्जामा ८.५० प्रतिशत दर तोकेको छ।
एनएमबि बैंकको १० वर्ष अवधिको ब्याजदर ८.९९ प्रतिशत रहेको छ। राष्ट्रिय वाणिज्य बैंकले ५, १० र १५ वर्षका लागि क्रमशः ७.५५, ८.०५ र ८.५५ प्रतिशत दर लागू गरेको छ। नेपाल एसबिआई बैंकले ५, १० र २० वर्ष अवधिका लागि ६.९९, ७.४९ र ८.४९ प्रतिशत दरमा कर्जा दिने योजना ल्याएको छ।
सिद्धार्थ, स्टान्डर्ड चार्टर्ड, सिटिजन्स, र हिमालयन बैंकलगायतले पनि ७.५० देखि ८.९९ प्रतिशतसम्मको स्थिर ब्याजदर प्रस्ताव गरेका छन्। कृषि विकास बैंक भने अझै पनि १० प्रतिशतभन्दा माथिको दरमा कर्जा दिइरहेको छ।
विश्लेषकहरूका अनुसार हालको ब्याजदर गिरावटले आवास क्षेत्रलाई पुनः सक्रिय बनाउन सहयोग पुर्याएको छ। स्थिर ब्याजदर योजनाले ग्राहकलाई भविष्यमा ब्याज वृद्धिबाट जोगाउने अवसर पनि प्रदान गर्छ।





Comment