नेपाल प्रहरी सेवामा इमानदार जिम्मेवारी निभाएका पूर्व अतिरिक्त महानिरीक्षक (एआईजी) तथा वरिष्ठ गीतकार टेक तामाङले नयाँ गीत सार्वजनिक गरेका छन्। उनले आफ्नै टेक तामाङ अफिसियल युट्युब च्यानलमार्फत ‘जित्नेहरुको पनि हजार–हजार हार हुन्छ’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेका हुन्।
सत्यराज आचार्यको स्वरमा रहेको यस गीतमा राजकुमार बगरको संगीत तथा सञ्जिव बराइलीको एरेन्ज रहेको छ। भिडियोमा अभिनेता सरोज खनालसँगै यु–२० राष्ट्रिय महिला फुटबल टोलीका खेलाडीहरुको अभिनय देख्न सकिन्छ। भिडियोको निर्देशन निकेश खड्काले गरेका हुन्।
हार र जीत जीवनका दुई पक्ष भएको सन्देश बोकेको यस गीतले “जित्नेहरुको पनि कहिलेकाहीँ हार हुन्छ” भन्ने जीवनदर्शन प्रस्तुत गरेको छ। गीतमार्फत आत्तिनु वा मात्तिनु हुँदैन, सुख–दुःख जीवनमा आइरहन्छ तर सपना बुन्न कहिल्यै छोड्नु हुँदैन भन्ने सन्देश दिइएको छ।
यसअघि सम्पन्न ‘गीतकार टेक तामाङ सांगीतिक साँझ २०८२’ नेपाली गीत–संगीत क्षेत्रमा ऐतिहासिक कार्यक्रमको रूपमा रेकर्ड भएको थियो।
गीतकार तामाङका यसअघि प्रकाशित कृति मध्ये नजिक भएर पनि, तिमीलाई माया गर्छु, आमा, जीवनसाथी, माया गरेर हेर, मै खुकुरी अघिसरी लगायतका आधुनिक, राष्ट्रिय र सेलो गरी झण्डै १ हजार गीत रेकर्ड र प्रकाशन भइसकेका छन्।





Comment