काठमाडौं । नेपाल राष्ट्र बैंकले देशभर अविरल वर्षाको कारण उत्पन्न हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै बैंक तथा वित्तीय संस्थाहरूलाई न्यूनतम संख्यामा कर्मचारी राखेर सेवा प्रवाह गर्न आग्रह गरेको छ।
राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेलले असोज १९ र २० गते (आइतबार र सोमबार) सार्वजनिक विदाको दिन भए तापनि बैंकिङ सेवा आवश्यक सेवामा पर्ने भएकाले कम्तिमा कर्मचारी उपस्थित गराई सेवा उपलब्ध गराउन निर्देशन दिएका हुन्।
सरकारले निरन्तर वर्षाका कारण संभावित बाढी, डुबान, भू-क्षय, यातायातमा अवरोध र मानवीय क्षतिको जोखिम मूल्यांकन गर्दै दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
पौडेलले सेवाग्राहीहरूलाई डिजिटल बैंकिङ सेवा प्रयोग गर्न प्रोत्साहित गर्दै, बैंक तथा वित्तीय संस्थाहरूले एटीएम तथा अनलाइन सेवा सञ्चालनमा ध्यान दिनुपर्ने बताए।
उनले भने, “सरकारले असोज १९ र २० गते सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ, तर बैंकिङ सेवा अत्यावश्यकमा पर्ने भएकाले डिजिटल माध्यमबाट सेवा उपयोग गर्न अनुरोध गर्दछौं। साथै, वित्तीय संस्थाले एटीएम सञ्चालन तथा अनलाइन सेवा सुनिश्चित गरी सीमित जनशक्तिबाट आवश्यक सेवा दिनुपर्नेछ।”





Comment