आगामी तीन दिन देशभर वर्षाको सम्भावना, सतर्क रहन आग्रह « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

आगामी तीन दिन देशभर वर्षाको सम्भावना, सतर्क रहन आग्रह



काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन देशका विभिन्न भू-भागमा भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ। विभागको मौसम पूर्वानुमान अनुसार शनिबार रातिदेखि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा पूर्ण बदली रहनेछ भने बाँकी भू-भागमा सामान्य बदली रहने छ। यी प्रदेशका पहाडी र तराई क्षेत्रमा मेघगर्जनसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ।

त्यसैगरी, कोशी, मधेश र बागमती प्रदेशका केही ठाउँमा भारी वर्षा हुन सक्ने छ भने केही एक वा दुई स्थानमा अत्यधिक भारी वर्षा हुने सम्भावना पनि देखिएको छ।

आइतवार दिउँसो पनि कोशी, मधेश र बागमतीमा पूर्ण बदली रहने र त्यहाँका अधिकांश ठाउँमा मेघगर्जनसहित मध्यम वर्षा हुने पूर्वानुमान छ। गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू-भागमा पनि वर्षा हुन सक्ने संभावना रहेको विभागले जनाएको छ। केही स्थानमा भारी वर्षा हुने चेतावनी जारी गरिएको छ।

राति भने पहाडी क्षेत्रहरूमा सामान्य बदली रहनेछ र केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। कोशी र बागमतीका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षा पनि हुन सक्छ।

सोमबार दिउँसो कोशी, बागमती, कर्णाली र सुदूरपश्चिममा साधारण बदली रहनेछ भने अन्य भू-भागमा आंशिक बदली रहने छ। केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। राति मौसममा सुधार हुँदै जाने देखिन्छ, यद्यपि केही पहाडी क्षेत्रहरूमा मध्यम वर्षा हुने अपेक्षा गरिएको छ।

जल तथा मौसम विज्ञान विभागले विशेषगरी पहाडी र तराई क्षेत्रका नदी तथा खोलानाला वरपरका बासिन्दालाई सतर्क रहन अनुरोध गरेको छ।

प्रकाशित : 4 October, 2025 8:08 pm