काठमाडौं । दशैं नेपाली समाजमा मात्र धार्मिक र सांस्कृतिक महत्व बोकेको चाड होइन, बालबालिकाका लागि खुशी र आशाको समय पनि हो। ठूला-बढा आफन्तबाट टिका, जमरा र दक्षिणा पाउने चलनले बालबालिकामा छुट्टै उत्साह देखिन्छ। तर, यसले दिने आर्थिक सिकाइको पक्षप्रति भने हामी धेरैजसो बेखबर छौं।
दशैंमा संकलन भएको दक्षिणा प्रायः मिठाइ, खेलौना वा घुमफिरमा खर्चिने चलन छ। यद्यपि, यो पैसालाई अभिभावकले व्यवस्थापन गरेर बैंकमा बचत गरिदिएमा त्यसको दीर्घकालीन फाइदा लिन सकिन्छ।
बचत गर्ने बानी सानैदेखि विकास गरेमा बालबालिकामा जिम्मेवारी, अनुशासन र भविष्यप्रतिको सोच तयार हुन्छ। यसरी बाल्यकालमै वित्तीय शिक्षा दिन सकिएमा भविष्यमा उनीहरू फजुल खर्चबाट जोगिन सक्छन् र आर्थिक योजना बनाउन सक्षम हुन्छन्।
अहिले अधिकांश बैंकले बालबालिकालाई लक्षित गर्दै न्यूनतम जम्मा राशिबाट खाता खोल्ने सुविधा दिएका छन्। कतिपय बैंकमा निःशुल्क खाता खोल्ने व्यवस्था पनि छ। यसले गर्दा स–साना रकम पनि सुरक्षित तरिकाले संकलन गर्न सकिन्छ।
दशैं तिहारजस्ता पर्वहरूमा बालबालिकाले पाउने दक्षिणालाई तत्कालको रमाइलोमा खर्च गर्नेभन्दा दीर्घकालीन योजनामा रूपान्तरण गर्नु बुद्धिमानी हो। आवश्यकता परेमा उक्त रकम भविष्यमा पढाइ, स्वास्थ्य वा अन्य आवश्यक काममा प्रयोग गर्न सकिन्छ।
अभिभावकहरूले चाडपर्वमा अत्यधिक खर्च गर्नुको सट्टा सन्तानको भविष्यलाई ध्यान दिँदै थोरै भए पनि बचतमा प्राथमिकता दिन थाले, त्यसले परिवार मात्रै होइन, देशको समग्र आर्थिक स्थायित्वमा समेत योगदान पुर्याउन सक्छ।





Comment