जेनजी आन्दोलनमा घर जलेपछि गभर्नरका लागि नयाँ आवास खोजी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

जेनजी आन्दोलनमा घर जलेपछि गभर्नरका लागि नयाँ आवास खोजी



काठमाडौं – नेपाल राष्ट्र बैंकले गभर्नर प्रा. डा. विश्वनाथ पौडेलका लागि नयाँ भाडाको घर खोज्ने प्रक्रिया सुरु गरेको छ। बैंकले आइतबार सार्वजनिक सूचना जारी गर्दै उपयुक्त घर भाडामा लिन इच्छुक घरधनीलाई प्रस्ताव पेश गर्न आह्वान गरेको हो।

गभर्नर पौडेलका चितवन र ललितपुर भैँसेपाटीस्थित दुई घर जेनजी आन्दोलनका क्रममा आगजनीमा परेपछि राष्ट्र बैंकले नयाँ आवासको खोजी थालेको हो।

बैंकका अनुसार घर ललितपुरको बखुन्डोलदेखि भैँसेपाटीसम्मको क्षेत्रमा हुनुपर्नेछ। उक्त घरमा कम्तीमा १६ आना देखि २४ आनासम्मको जग्गा, ६ वटा कार वा जिप पार्क गर्न सकिने ठाउँ र सुरक्षित कम्पाउन्ड वालको व्यवस्था अनिवार्य रहनेछ।

साथै, घर RCC स्ट्रक्चरमा बनेको र १,००० वर्गफुटभन्दा बढी पिलिन्थ क्षेत्रफल भएको हुनुपर्ने बैंकले स्पष्ट गरेको छ। घरमा कम्तीमा १ मास्टर बेडरुमसहित ४ बेडरुम, लिभिङ हल, किचन, डाइनिङ हल र स्टोर रुम अनिवार्य रहनेछ। गभर्नरको सुरक्षा व्यवस्थाका लागि सुरक्षाकर्मी बस्न छुट्टै भवन को सुविधा समेत आवश्यक पर्ने जनाइएको छ।

बैंकले घर कालोपत्र सडकसँग जोडिएको र बिजुली, खानेपानी तथा ढल निकासजस्ता पूर्वाधार पूर्ण रूपमा उपलब्ध हुनुपर्ने उल्लेख गरेको छ।

राष्ट्र बैंकका अनुसार इच्छुक घरधनीले आफ्नो प्रस्ताव असोज २७ गतेभित्र राष्ट्र बैंकमा पेश गर्नुपर्नेछ।

प्रकाशित : 28 September, 2025 3:03 pm