काठमाडाै । अर्थ मन्त्रालयले शुक्रबारदेखि एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (GIOMS) अनिवार्य रूपमा लागू गरेको छ। अर्थमन्त्री रामेश्वर खनालले उक्त प्रणालीमार्फत पहिलो फाइल स्वीकृत गर्दै यसको औपचारिक सुरुवात गरेका हुन्।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सूचना प्रविधि विभागले विकास गरेको यो प्रणालीमार्फत सरकारी निकायका कामकाजलाई एकै सूचना प्रविधि प्रणालीमा ल्याई सरल, सहज, छिटो, छरितो, मितव्ययी, पारदर्शी र प्रभावकारी बनाउने लक्ष्य राखिएको छ।
अबदेखि अर्थ मन्त्रालयका सम्पूर्ण काम पेपरलेस (कागजरहित) प्रणालीमार्फत सञ्चालन हुनेछन्। यसमार्फत तोक आदेश र टिप्पणी–निर्णय, चिठीपत्र दर्ता–चलानी, हाजिरी, बिदा तथा काज स्वीकृति, अभिलेख व्यवस्थापनलगायतका कार्य विद्युतीय हस्ताक्षरसहित गर्नुपर्ने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।
अर्थ मन्त्रालयका अनुसार, GIOMS कार्यान्वयनपछि निर्णय प्रक्रियामा तीव्रता, खर्चमा मितव्ययिता, कार्यप्रक्रियामा पारदर्शिता, र जवाफदेहिता बढ्नेछ।





Comment