ललितपुर — कुमारीपाटीस्थित पञ्चशील बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २५औं वार्षिक साधारण सभाले आगामी चार वर्षका लागि नयाँ सञ्चालक समिति चयन गरेको छ। सभाबाट देवेन्द्र प्रसाद श्रेष्ठ पुनः अध्यक्षमा निर्वाचित भएका छन्।
नवनिर्वाचित समितिमा राम प्रसाद गिरी उपाध्यक्ष, नारायण पोख्रेल सचिव, ज्ञानेन्द्र अधिकारी कोषाध्यक्ष, तथा राजेन्द्र शाक्य, जीवन देवी बज्राचार्य र अमिता सिद्धि बज्राचार्य सदस्य रहेका छन्। त्यस्तै, लेखा सुपरीवेक्षण समितिको संयोजकमा शेषराज दाहाल र सदस्यमा राम प्रसाद निरौला तथा रुपेश भट्टराई चयन भएका छन्।
आर्थिक प्रतिवेदनका मुख्य तथ्याङ्क
साधारण सभामा प्रमुख कार्यकारी अधिकृत राजु खतिवडाले आ.व. २०८१/०८२ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको आर्थिक स्थिति सार्वजनिक गरे।
सेयर पुँजी: रु. १७ करोड ७७ लाख ८९ हजार ६ सय
बचत संकलन: रु. २ अर्ब ९९ लाख ७२ हजार
कुल कारोबार: रु. २ अर्ब ६९ करोड ६१ लाख १५ हजार
जगेडा तथा अन्य कोष: रु. ३२ करोड ९८ लाख ६९ हजार
नाफा: रु. ९ करोड ९९ लाख ९३ हजार ७८९.७१
आयकर तिरेको रकम: रु. १ करोड ८१ लाख
राजस्व योगदान: रु. ३ करोड २२ लाख ५३ हजार
साधारण सभाले गत वर्षको नाफाबाट १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
सम्मान र सामाजिक योगदान
सभामा नियमित बचत गर्ने ७५ वर्षभन्दा माथिका १७ जेष्ठ नागरिकलाई चार्डपर्व खर्चसहित सम्मान गरिएको छ।
त्यस्तै, एसईई र +२ परीक्षामा उत्कृष्ट अंक ल्याउने सदस्यका परिवारलाई नगदसहित सम्मान गरिएको थियो।
संस्थाले उत्कृष्ट बचत तथा कर्जा कारोबार गर्ने सदस्यलाई पनि सम्मान गरेको छ।
प्रमुख कार्यकारी अधिकृत पुनः नियुक्त
नव निर्वाचित सञ्चालक समितिको पहिलो बैठकले राजु खतिवडालाई पुनः चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको छ।
साधारण सभामा संस्थाका सल्लाहकार डा. डोल प्रसाद दाहाल, कर्जा उपसमितिका संयोजक वैजहरी भट्टराईलगायतले मन्तव्य व्यक्त गरेका थिए।
अध्यक्ष श्रेष्ठले सहकारी क्षेत्रप्रति फैलिएका नकारात्मक सन्देशका बाबजुद पनि संस्थाले सदस्यलाई उच्च प्रतिफल र विश्वसनीय सेवा प्रदान गर्न निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।





Comment