अर्थतन्त्रको मेरुदण्डमाथि प्रहार स्वीकार्य छैन : चन्द्र प्रसाद ढकाल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

अर्थतन्त्रको मेरुदण्डमाथि प्रहार स्वीकार्य छैन : चन्द्र प्रसाद ढकाल



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले निजी क्षेत्रमाथिको दृष्टिकोणमा आमूल परिवर्तन आवश्यक रहेको बताएका छन्।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)को नवनिर्वाचित कार्यसमितिलाई मंगलबार महासंघको कार्यालयमा स्वागत गर्दै अध्यक्ष ढकालले आन्दोलनका हरेक चरणमा निजी क्षेत्रलाई निशाना बनाइनु गम्भीर विषय भएको उल्लेख गरे।

उनका अनुसार, देशको अर्थतन्त्रमा ८१ प्रतिशत योगदान दिने र ८६ प्रतिशत रोजगारी सिर्जना गर्ने निजी क्षेत्रमाथि पटक–पटक आक्रमण हुनु राज्यले यसको महत्त्व बुझ्न नसकेको संकेत हो।

जेनजी आन्दोलनबाट ८० अर्ब बराबरको क्षति

अध्यक्ष ढकालले पछिल्लो जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट करिब ८० अर्ब रुपैयाँ बराबरको निजी सम्पत्तिमा क्षति भएको प्रारम्भिक आँकडा प्रस्तुत गरे।

“भदौ २३ र २४ गतेपछिको आन्दोलनले सरकारी र निजी सम्पत्तिमा ठूलो क्षति पुर्‍याएको छ। अहिले हाम्रो सामु यस अवस्थाबाट बाहिरिने चुनौती छ,” उनले भने।

सरकारको राहत प्याकेजको प्रशंसा

उनले वर्तमान सरकारले छोटो समयमै राहत प्याकेज घोषणा गरेर निजी क्षेत्रको मनोबल बढाउने काम गरेको भन्दै महासंघले यसलाई सकारात्मक रूपमा लिएको बताए।

सञ्चार माध्यमको भूमिका महत्वपूर्ण

अध्यक्ष ढकालले निजी क्षेत्रप्रति सकारात्मक धारणा बनाउन तथ्यमा आधारित र जिम्मेवार पत्रकारिता आवश्यक रहेको धारणा राखे।
उनले नीति निर्माणमा संचारमाध्यमले पुर्‍याउने भूमिका उल्लेख गर्दै, महासंघ र सेजनबीच सहकार्य अझ बलियो हुने विश्वास व्यक्त गरे।

महासंघका अन्य पदाधिकारीको भनाइ

महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले पछिल्ला घटनाक्रमले उद्योगी व्यवसायीहरूमा असुरक्षा र निराशाको भावना पैदा गरेको बताए। उनले शान्ति, सुव्यवस्था र लगानीमैत्री वातावरण निर्माणमा सरकारको सक्रियता अपरिहार्य भएको उल्लेख गरे।

उपाध्यक्ष हेमराज ढकालले सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद र विश्वासको वातावरण बनाउनु अहिलेको आवश्यकता भएको बताए।
कोषाध्यक्ष भरतराज आचार्यले अर्थतन्त्रको पुनर्निर्माण, नवप्रवर्तन र रोजगारीको अवसर विस्तारका लागि सरकार र निजी क्षेत्रबीच समन्वय आवश्यक रहेको धारणा व्यक्त गरे।

सेजनको प्रतिबद्धता

सेजनका अध्यक्ष भागवत भट्टराईले आर्थिक पत्रकारितामार्फत खुला अर्थतन्त्र, उद्यमशीलता र रोजगारीको पैरवी गर्दै आएको जानकारी दिँदै महासंघसँगको सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

महासंघको निष्कर्ष र आग्रह

महासंघले बदलिंदो राजनीतिक तथा आर्थिक परिदृश्यमा रोजगारी सिर्जना, नवप्रवर्तन र दिगो आर्थिक विकास सुनिश्चित गर्न साझा प्रयास आवश्यक भएको उल्लेख गर्दै, निजी क्षेत्रका मुद्दा समग्र राष्ट्रको समृद्धिसँग जोडिएको कुरा बुझ्न सबै पक्षमा आग्रह गरेको छ।

प्रकाशित : 23 September, 2025 8:15 pm