काठमाडौ । हिन्दू धर्मावलम्बीहरूको महान् चाड बडादसैँ आजबाट घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदादेखि प्रारम्भ हुने यो पर्व १५ दिनसम्म श्रद्धा, भक्ति र उमंगका साथ देशभर मनाइन्छ।
आज घटस्थापनाको साइत बिहान ९ः१३ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। शास्त्रीय मान्यताअनुसार प्रतिपदाका दिन सूर्योदयपछि घटस्थापना गर्नुपर्ने भएकाले यही साइत निर्धारण गरिएको हो।
घटस्थापनासँगै जमरा राखिँदै
बडादसैँको पहिलो दिन श्रद्धालुहरूले घरघरमा वैदिक विधिअनुसार कलश, गणेश, दियो स्थापना गरी घटस्थापना गरेका छन्। पूजा कोठा वा दसैँ घरमा गाईको गोबरले लिपेको चोखो स्थानमा माटो वा बालुवा राखी त्यसमा जौ (यव) रोप्ने परम्परा छ। यसलाई जमरा राख्ने भनिन्छ।
धार्मिक मान्यताअनुसार यव दुर्गा देवीको प्रिय वस्तु भएकोले यसलाई अङ्कुरित गराई विजयादशमीका दिन टीका, प्रसादसँगै पहेँलो जमरा ग्रहण गरिन्छ।
नेपाल पञ्चाङ्ग समितिका सदस्य प्रा.डा. देवमणि भट्टराईका अनुसार जमरामा जौ बाहेक अन्य अन्न प्रयोग नगर्नु शास्त्रसम्मत मानिन्छ। यद्यपि, केही परिवारमा परम्परागत रूपमा अन्य अन्न पनि मिसाउने गरिन्छ।
नवरात्रभर नवदुर्गाको पूजा
घटस्थापनापछि प्रारम्भ हुने नवरात्रको ९ दिन देवी दुर्गाका नौ रूपहरूको पूजामा समर्पित हुन्छ। हरेक दिन फरक–फरक रूपको पूजा गरिन्छः
शैलपुत्री
ब्रह्मचारिणी
चन्द्रघण्टा
कुष्माण्डा
स्कन्दमाता
कात्यायनी
कालरात्र्री
महागौरी
सिद्धिदात्री
यिनै नवदुर्गाको पूजा आराधना गरेर दुर्गा सप्तशती, श्रीमद्देवीभागवत, देवी स्तोत्र तथा स्तुतिको पाठ पारायण गरिन्छ। देवीले चण्ड, मुण्ड, शुम्भ, निशुम्भजस्ता राक्षसहरूमाथि विजय प्राप्त गरेपछि नै यस पर्वलाई दैवी शक्तिको विजयको प्रतीक मानिन्छ।
देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो
यस अवसरमा काठमाडौंको गुह्येश्वरी, मैतीदेवी, नक्साल भगवती, शोभा भगवती, नाला भगवती र पलाञ्चोक भगवती लगायतका शक्तिपीठमा विशेष पूजा र दर्शनका लागि भक्तजनको भीड लाग्ने गर्छ।
हनुमानढोका दरबारमा विशेष परम्परा
परम्पराअनुसार काठमाडौंको हनुमानढोका दरबारस्थित दसैँ घरमा पनि आजैदेखि विशेष पूजा आरम्भ भएको छ। घटस्थापनापछि त्यहाँ दैनिक बलिसहित देवी पूजा हुन्छ भने महानवमीका दिन ५४ बोका र ५४ राँगाको बलि दिने परम्परा रहेको हेरचाह अड्डाका प्रमुख काजीमान प्याकुरेलले जानकारी दिए।
विजया दशमी असोज १६ गते, टीकाको उत्तम साइत बिहान ११ः५३ बजे
यस वर्षको विजया दशमी असोज १६ गते पर्ने समितिले जनाएको छ। टीका ग्रहण गर्ने उत्तम साइत बिहान ११ः५३ बजे रहेको छ भने देवी विसर्जनको साइत ९ः२३ बजे तोकिएको छ।
विजया दशमीदेखि कोजाग्रत पूर्णिमासम्म देवीको प्रसाद तथा आशीर्वाद ग्रहण गर्ने परम्परा छ। पूर्णिमाको रातमा धनधान्यकी देवी महालक्ष्मीको व्रत गरी जाग्राम बसेर पूजा गर्ने चलन छ। मानिन्छ, जाग्राम बसेका व्यक्तिलाई लक्ष्मीले धनधान्यले सम्पन्न बनाउनेछिन्।
पारिवारिक पुनर्मिलनको पर्व
दसैँलाई पारिवारिक पुनर्मिलनको पर्वका रूपमा पनि लिइन्छ। रोजगारी, अध्ययन वा अन्य कारणले टाढा रहेका मानिसहरू यस अवसरमा घर फर्कन्छन् र परिवारसँग समय बिताउँछन्। धेरैजसो शैक्षिक संस्थाले आजैदेखि बिदा दिएका छन्।





Comment