विश्वकर्मा पूजा र वास्तु दिवस आज, कालीगढ र मजदुरले औजार पूजा गर्दै मनाइँदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

विश्वकर्मा पूजा र वास्तु दिवस आज, कालीगढ र मजदुरले औजार पूजा गर्दै मनाइँदै



काठमाडौं । नेपालभर आज विश्वकर्मा पूजा र वास्तु दिवस भव्य रूपमा मनाइँदैछ। विशेषगरी कालीगढ, मजदुर तथा कलकारखानामा कार्यरत व्यक्तिहरूले आफ्ना औजार र मेसिनहरूमा विधिपूर्वक पूजा गर्दै यो पर्व मनाइरहेका छन्।

प्रत्येक वर्षजस्तै कन्या संक्रान्ति (आश्विन संक्रान्ति) का दिन भगवान् विश्वकर्माको पूजा गरिन्छ। राजधानीसहित देशभरका उद्योगधन्दा र कार्यस्थलहरू आज विशेष रूपमा सजाइएका छन्। पूजा सम्पन्न भएपछि बालुवाको मूर्ति वा तस्वीरलाई बागमती नदीको सुन्दरीजल तथा अन्य पवित्रस्थलमा लैजाई मूर्ति सेलाउने परम्परा छ। यस वर्ष पूजा सकिएपछि बिहीबारदेखि मूर्ति नदीमा सेलाइने जनाइएको छ।

धार्मिक विश्वासअनुसार, औजार र मेसिनमा आज पूजा गरेमा तिनीहरू लामो समय टिक्ने, काम गर्दा बिग्रन नहुने र राम्रो उत्पादन हुने मान्यता छ। त्यसैले आजको दिन केवल औजार मात्र नभई सवारी साधन र विभिन्न मेसिनरीमा पनि पूजा गरिन्छ।

धर्मशास्त्रविद् प्रा. तोयराज नेपालका अनुसार, द्वापर युगमा भगवान् कृष्णलाई राक्षसबाट बचाउन विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ नामक शहर एकै रातमा निर्माण गरेका थिए। त्यस समयदेखि नै उनलाई महान वास्तुविद् मान्दै पूजा गर्ने परम्परा सुरु भएको हो।

वास्तुशास्त्री शिव पोखरेलका अनुसार, विश्वकर्माले रचना गरेको ‘विश्वकर्मा प्रकाश’ नामक ग्रन्थ अहिले पनि वास्तुशास्त्रमा महत्वपूर्ण मानिन्छ। चार उपवेदमध्येको एक स्थापत्य वेदमा वास्तु शास्त्रकै विषय उल्लेख गरिएको छ। हालका दिनमा नेपालमा वास्तु विद्याप्रति चासो बढ्दै गएकाले यसको पुनर्जागरण भइरहेको उनले बताए।

यसै सन्दर्भमा, आजको दिनलाई वास्तु दिवसका रूपमा पनि मनाइन्छ। वास्तुविद्हरूले यस दिनलाई आफ्नो पेशागत योगदान र परम्पराप्रति सम्मान स्वरूप विशेष कार्यक्रम गरी मनाउने गरेका छन्।

नेपालका कालीगढ र मजदुर वर्गका मानिसहरूले आज भगवान् विश्वकर्माको पूजा गर्दै स्वस्थ, समृद्ध र सफल कामको कामना गरेका छन्।

प्रकाशित : 17 September, 2025 12:10 pm