अर्थमन्त्री खनालद्वारा भाटभटेनी सुपरमार्केट र अटो शोरुमको अवलोकन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

अर्थमन्त्री खनालद्वारा भाटभटेनी सुपरमार्केट र अटो शोरुमको अवलोकन



काठमाडौं । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले हालैको जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त संरचनाहरूको निरीक्षण गरेका छन्। मङ्गलबार मन्त्री खनाल नेतृत्वको टोलीले नक्सालस्थित भाटभटेनी सुपरमार्केट र थापाथलीका अटो शोरुमहरूमा पुगेर क्षतिको अवलोकन गरेको हो।

आन्दोलनकारीहरूले तोडफोड र आगजनी गरेका यी स्थानहरूमा अर्थमन्त्रीले व्यवसायीहरूसँग संवाद नगरे पनि, सरकारी स्रोतका अनुसार निजी क्षेत्रलाई राहत दिने उद्देश्यले आवश्यक मूल्यांकन थालिएको छ।

माइतीघर, थापाथली हुँदै नक्सालसम्मको अवलोकन भ्रमणमा अर्थमन्त्रीसँग अर्थ मन्त्रालयका अधिकारीहरू पनि सहभागी थिए। अर्थ मन्त्रालयले दिएको जानकारीअनुसार, अवलोकनपछि प्राप्त विवरणको आधारमा राहतपुर्वक कार्यक्रम ल्याउने तयारी भइरहेको छ।

सरकारले कर छुट, सहुलियतपूर्ण कर्जा, बीमा भुक्तानी तथा व्यवसाय पुनः सञ्चालनका लागि आवश्यक नीति ल्याउने संकेत दिएको छ। यसअघि मङ्गलबार नै अर्थ मन्त्रालयमा आयोजित छलफलमा पनि व्यवसायीहरूले तत्काल राहत र स्पष्ट योजना ल्याउन सरकारसँग माग गरेका थिए।

प्रकाशित : 16 September, 2025 6:25 pm