अर्थमन्त्री खनालसँग सहकार्य गरेर बैंकिङ प्रणाली बलियो बनाउने गभर्नर पौडेलको प्रतिबद्धता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

अर्थमन्त्री खनालसँग सहकार्य गरेर बैंकिङ प्रणाली बलियो बनाउने गभर्नर पौडेलको प्रतिबद्धता



काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्व पौडेलले हालैको जेन–जी आन्दोलनका क्रममा केही बैंक शाखा र एटीएममा आक्रमण भए पनि बैंकिङ प्रणाली पूर्ण रूपमा सुरक्षित रहेको स्पष्ट पारेका छन्।

अर्थमन्त्री रामेश्वर खनालको पदभार ग्रहण समारोहपछि बोल्दै गभर्नर पौडेलले जानकारी दिँदै भने, “६८ वटा शाखामा आक्रमण भयो, ६९ वटा एटीएममा केही असर पर्यो, तर प्रणालीमा कुनै गम्भीर क्षति छैन। आन्दोलन बैंक लक्षित थिएन।”

उनले बैंककर्मीहरूको मनोबल घटिरहेको अवस्थामा यसलाई बलियो बनाउनु आवश्यक रहेकोमा जोड दिए। “पहिले पनि चुनौती थियो, अहिले थपिएको छ। तर समाधानका लागि हामी तयारीमा छौं,” उनले भने।

गभर्नर पौडेलले नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालको अनुभव र नेतृत्वप्रति भरोसा व्यक्त गर्दै अर्थ मन्त्रालय र राष्ट्र बैंकबीचको सहकार्यले बैंकिङ प्रणालीलाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गरे।

उनले भने, “अर्थमन्त्री अनुभवी व्यक्तित्व हुनुहुन्छ। अब सरकार, व्यवसायी र बैंककर्मीबीच सहकार्य गरेर समस्या समाधान गर्न जरुरी छ। यो समय अवसरको हो—सही रूपमा प्रयोग गर्न सके देशको अर्थतन्त्रलाई फाइदा पुग्नेछ।”

पौडेलले बैंकिङ प्रणालीका चुनौती अझै कायम रहे पनि उपाय खोज्ने मानसिकता र सहकार्यबाट सुधार सम्भव हुने धारणा व्यक्त गरे।

प्रकाशित : 15 September, 2025 3:20 pm