काठमाडौं । वरिष्ठ उद्यमी शेखर गोल्छाले केही व्यवसायीमाथि भएका आक्रमणले आफ्ना परिवारलाई असर पुर्याए पनि आफू र परिवार निराश नभएको बताएका छन्। शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले देशमा सकारात्मक परिवर्तन आउन र नयाँ पुस्ताले देखेको “नयाँ नेपालको सपना” पुरा होस् भन्ने कामना व्यक्त गरेका छन्।
गोल्छाले भने, “म र मेरो परिवार विचलित भएका छैनौं। आजको सुनौलो विहानीसँगै देश सकारात्मक दिशातर्फ अघि बढोस्, लोकतन्त्र अझ सुदृढ होस् भन्ने कामना गर्दै हामी अझै रोजगारी सिर्जना गर्न र लगानी गर्न प्रतिवद्ध छौं।” उनले अन्धकारपछि आउने उज्यालोलाई आशाको प्रतीकको रूपमा देखाउँदै सबै नेपालीबीच सद्भाव र एकता कायम होस् भन्ने शुभकामना पनि व्यक्त गरे।
अघिल्ला राजनीतिक अस्थिरता र हिंसात्मक घटनाले अर्थतन्त्रमा पारेको नकारात्मक प्रभावप्रति चिन्ता व्यक्त गर्दै गोल्छाले उद्यमी–व्यवसायीहरूले हौसला र दृढ संकल्पका साथ अगाडि बढ्नुपर्ने सन्देश दिएका छन्।






Comment