काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) का अध्यक्ष चन्द्र प्रसाद ढकाल र कतार चेम्बरका अध्यक्ष शेख खालिफा विन जासिम विन मोहम्मद अल थानीबीच कतारमा भेटवार्ता भएको छ । भेटवार्तामा नेपाल–कतारबीचको आर्थिक तथा व्यवसायिक सम्बन्ध सुदृढ बनाउन सहकार्य गर्नेबारे विस्तृत छलफल भएको थियो ।
भेटका क्रममा दुवै पक्षले नेपाल–कतार संयुक्त व्यापार परिषद् (JBC) को आगामी बैठक काठमाडौंमा छिट्टै आयोजना गर्ने सहमति गरेका छन् । अध्यक्ष ढकालले जेबीसीलाई दुई देशबीच व्यापार तथा लगानी प्रवर्द्धनको प्रभावकारी संयन्त्रको रुपमा उल्लेख गर्दै यसलाई अझ सशक्त बनाउन सदस्य सूचीलाई शीघ्र अन्तिम रूप दिनुपर्नेमा जोड दिनुभयो ।
नेपालमा लगानीका प्रशस्त अवसर रहेको उल्लेख गर्दै अध्यक्ष ढकालले कतारी लगानीकर्तालाई जलविद्युत, सौर्य ऊर्जा, सूचना प्रविधि, फिनटेक तथा कृषि–आधारित उद्योगमा लगानी गर्न आग्रह गर्नुभयो । उहाँले महासंघले अघि बढाइरहेको डिजिटल रूपान्तरण प्रक्रियामा कतार चेम्बरसँग सहकार्य गर्न सकिने भन्दै एआई–आधारित व्यवसायिक उपकरण, ब्लकचेन–आधारित व्यापार कागजीकरण प्रणाली तथा डिजिटल प्लेटफर्ममार्फत लगानी प्रवर्द्धनमा अनुभव आदान–प्रदान गर्ने प्रस्ताव गर्नुभयो ।
कतार चेम्बरका अध्यक्ष अल थानीले जेबीसीलाई अन्तिम रूप दिई थप प्रभावकारी बनाइने बताउँदै नेपालसँगको आर्थिक तथा व्यवसायिक सम्बन्धलाई अझ मजबुत बनाउन निरन्तर पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
यस अवसरमा अध्यक्ष ढकालले कतार चेम्बर तथा कतारी व्यवसायिक समुदायलाई सन् २०२६ फेब्रुअरीमा काठमाडौंमा आयोजना हुने नेपाल अन्तर्राष्ट्रिय आर्थिक शिखर सम्मेलन (NIES) मा सहभागी हुन निमन्त्रणा दिनुभयो । सम्मेलनमा विशेष “कतार–केन्द्रित लगानी सत्र” राखिने तयारी भएको उहाँले जानकारी दिनुभयो ।
अध्यक्ष ढकालले नेपाली चिया, कफी, अलैंची, जडीबुटी तथा प्रशोधित खाद्यवस्तु जस्ता कृषि उत्पादनलाई कतारको बजारमा पुर्याउन ठूलो सम्भावना रहेको बताउँदै प्रमाणिकरण, मानकीकरण र संयुक्त ब्रान्डिङका क्षेत्रमा सहकार्य गर्ने प्रस्ताव गर्नुभयो ।
भेटवार्तामा कतार चेम्बरका उच्च पदाधिकारी तथा व्यवसायीहरूको पनि उपस्थिति थियो ।





Comment