दबाबमा बैंकिङ क्षेत्र : एनपीएल ४.६२ प्रतिशत, गैरबैंकिङ सम्पत्ति चुलियो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

दबाबमा बैंकिङ क्षेत्र : एनपीएल ४.६२ प्रतिशत, गैरबैंकिङ सम्पत्ति चुलियो



काठमाडौं । कर्जा असुलीमा देखिएको सुस्तताका कारण बैंक तथा वित्तीय संस्थामा गैरबैंकिङ सम्पत्ति थपिँदै गएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार, आर्थिक वर्ष २०८१/८२ मा मात्रै बैंक तथा वित्तीय संस्थामा २० अर्ब रुपैयाँभन्दा बढी गैरबैंकिङ सम्पत्ति थपिएको छ। यसरी हालसम्म कुल गैरबैंकिङ सम्पत्ति ५५ अर्ब ५५ करोड १० लाख रुपैयाँ पुगेको छ।

अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा यो रकम ३५ अर्ब ५० करोड ९० लाख रुपैयाँ मात्र थियो। तर, कर्जा असुलीमा देखिएको चुनौती र नयाँ कर्जा विस्तारमा आएको मन्दीका कारण एक वर्षमा मात्रै २० अर्ब ४ करोड २० लाख रुपैयाँ गैरबैंकिङ सम्पत्ति थपिएको हो।

समग्र बैंकिङ क्षेत्र अझै सुस्त छ। निजी क्षेत्रले कर्जाको माग बढाउन नसक्दा बैंकहरूको लागत बढिरहेको छ । तर निक्षेप भने निरन्तर बढ्दो क्रममा छ। अत्यधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले लगातार मौद्रिक साधनमार्फत बैंकिङ प्रणालीबाट पैसा सोसिरहेको छ।

तथ्यांकअनुसार, २०८१/८२ मा बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जा (एनपीएल) औसत ४.६२ प्रतिशत रहेको छ। यस अवधिमा वाणिज्य बैंकहरूको औसत एनपीएल ४.४४ प्रतिशत पुगेको छ। वाणिज्य बैंकहरूमा मात्र ४२ अर्ब ७७ करोड ३० लाख रुपैयाँ बराबरको गैरबैंकिङ सम्पत्ति थुप्रिएको छ । जुन अघिल्लो वर्षको तुलनामा १२ अर्ब ५९ करोड ७० लाख रुपैयाँले बढी हो। अघिल्लो वर्षसम्म वाणिज्य बैंकहरूको गैरबैंकिङ सम्पत्ति ३० अर्ब १७ करोड ६० लाख रुपैयाँ थियो।

विकास बैंकहरूतर्फ हेर्दा, समीक्षा वर्षमा औसत खराब कर्जा ५.०३ प्रतिशत पुगेको छ। विकास बैंकहरूमा गैरबैंकिङ सम्पत्ति ४ अर्ब ६८ करोड ७० लाख रुपैयाँ पुगेको छ । जुन अघिल्लो वर्षको ३ अर्ब ३६ करोड ९० लाख रुपैयाँभन्दा १ अर्ब ३१ करोड ८० लाख रुपैयाँले बढी हो।

फाइनान्स कम्पनीहरूको हालत अझ चुनौतीपूर्ण देखिएको छ। २०८१/८२ मा फाइनान्स कम्पनीहरूको एनपीएल बढेर ११.०५ प्रतिशत पुगेको छ। यस अवधिमा तिनीहरूको गैरबैंकिङ सम्पत्ति ३ अर्ब ९ करोड १० लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको १ अर्ब ९६ करोड ४० लाख रुपैयाँभन्दा १ अर्ब १२ करोड ७० लाख रुपैयाँ बढी हो।

यसरी, एक वर्षको अवधिमा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनी सबैको गैरबैंकिङ सम्पत्ति उल्लेख्य रूपमा बढेको छ। यसले कर्जा असुलीमा देखिएको समस्याले बैंकिङ क्षेत्रमा थप दबाब सिर्जना गरिरहेको स्पष्ट हुन्छ। कर्जा विस्तारमा सुस्तता, निक्षेप वृद्धि र गैरबैंकिङ सम्पत्तिको भारले बैंकहरूको लागत संरचना झन् जटिल बनाइरहेको छ ।

प्रकाशित : 24 August, 2025 2:09 pm