नेफ्स्कूनको ३८ वर्ष : सहकार्य, पारदर्शिता र विश्वासको यात्रा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

नेफ्स्कूनको ३८ वर्ष : सहकार्य, पारदर्शिता र विश्वासको यात्रा



बचत तथा ऋण सहकारी अभियान मेरो दुई दशकभन्दा बढी बिताएको क्षेत्र हो। मैले सिकेको क्षेत्र पनि सहकारी हो र आजसम्म संलग्न भएर खुसी मिलेको क्षेत्र पनि सहकारी नै हो। सहकारी नेपालको आर्थिक विकासको मेरुदण्डको रूपमा विकास भएको देखेको दुई दशकमा समुदाय र अभियानले काँचुली फेरेको छ। नसोचेका जोखिमहरू बेहोरेको छ। अपेक्षा समेत नगरेका अवसरहरू प्राप्त भएको छ। अभियानले कुनै न कुनै विधिले थप उचाइ पाएको छ। हिजो संख्यात्मक विकासको कुरा थियो, आज गुणात्मक विकासको कुरा छ। सेवा विविधीकरणको कुरा छ। संस्थागत विकास भई संस्थाहरू व्यवसायिक दिगोपनको चरणमा प्रवेश गरेको पाएको छु। सहकारीमा पहिचान अनवरत सवाल हो, त्यो हाम्रोमा पनि छ। सहकारी समुदायको जीवनपद्धति भएको छ।

सदस्यहरूको आवश्यकता, नियामकहरूको सोच र अभियानको गति एउटै नहुँदा समस्या भएको छ। सहकारी क्षेत्रमा प्रविधि र जनशक्ति सोचेजस्तो बन्न सकेको छैन, तर अभियानकर्मीहरूले हीनता बोध गर्नु पर्ने छैन। समुदायका सहकारी सुरक्षित छन्, भविष्यमा पनि सुरक्षित रहने छन्। जीडीपीमा योगदान अध्ययन हुन लागेको छ। अभियानले मागेका कानूनहरू बनेका पनि छन्। बचत तथा ऋण सहकारीमा जोखिम व्यवस्थापन गरी सुधार गर्न आवश्यक छ। नेफ्स्कून स्थापनाको ३८ आैँ स्थापना दिवस बचत तथा ऋण सहकारी सिद्धान्तमा विश्वास गर्नेहरूको लागि उत्सव हो। यो संघको मात्र स्थापना दिवस होइन, अभियानको सक्षमता भन्ने दिन पनि हो । स्थापना दिवस बचत तथा ऋण सहकारीहरूको चर्चा गर्ने दिन पनि हो। सामूहिक समस्याको समाधान खोज्ने दिन पनि हो। सदस्यहरूको सहभागितामा सञ्चालन हुने भएकाले यस दिनले बचत तथा ऋण सहकारीहरूको लागि अर्थ राख्दछ।

हामी सुरक्षित साकोस र समुन्नत समाजका लागि काम गर्ने प्रतिबद्धता गर्ने दिन हो। सदस्य, समुदाय र समग्र अर्थ व्यवस्थामा सहकार्यको आवश्यकता छ। सहकारीभित्रको परम्परागत सोच बदलेर नयाँ सोच विकासको थालनी गर्ने दिनको रूपमा लिएको छु। स्थापना दिवसले अभियान एकाकार गर्न राम्रो काम गरेको छ। शुरुवातका दिनमा बचत तथा ऋण सहकारीहरूको सवालमा चर्चा गर्ने दिनकै रूपमा स्वीकार गरेर सुरु गरिएको हो। स्थापना दिवसले बचत तथा ऋण सहकारीहरूलाई बिरुवालाई सिंचाइ गर्ने जस्तै काम गर्दछ। त्यसरी नै वैचारिक रूपमा स्थापना दिवसले सहकारी अभियानलाई योगदान गरेको छ।

अभियानको एउटै आवाजका लागि यस दिनको महत्त्व रहको छ। नेफ्स्कून स्थापना भएपछि आजसम्म साठी लाखभन्दा बढी व्यक्तिगत सदस्यहरू जोडिएको एक विशाल परिवार बनाउने काम भएको छ। समानता, सामूहिकता र बचतको महत्व अपनाएर वित्तीय साक्षरतामा वृद्धि भएको छ। संघको व्यवसायिक आकार हाम्रो ध्येय होइन, सदस्यहरूको हित हाम्रो मूल ध्येय हो र नेफ्स्कूनको सोच आजको समस्यामा मात्र केन्द्रित हुने होइन, क्षेत्रगत स्थायित्वका लागि निरन्तर परिमार्जनमा लाग्ने भन्ने हो। सहकारिता मर्दैन। सहकारीको कानून फेरिएर, नियामक बदलिएर वा अन्य समस्याले सहकारिता मर्दैन। बचत तथा ऋण सहकारीहरूको उपलब्धि मानव पूँजी निर्माण तथा स्थानीय चक्रिय अर्थतन्त्रमा योगदान गर्ने बचत तथा ऋण सहकारी वित्त विकास हो।

समुदायको स्वामित्वमा ३५ अर्बभन्दा धेरै जगेडा कोष, ७५ अर्बको आर्थिक सहभागिता अभियानको उपलब्धि हो। तालिम, शिक्षा, सामुदायिक क्रियाकलापले दिगो विकास लक्ष्यमा योगदान गरेको छ, तर सहकारी क्षेत्रलाई स्वीकार गर्ने सोच बन्न आवश्यक छ। चुनौती सबै क्षेत्रमा जस्तै सहकारी क्षेत्रमा पनि छ। सहकारीको चुनौती बाह्यभन्दा आन्तरिक र व्यवस्थापकीय स्तरमै व्यवस्थापन गर्न सकिने देखिन्छ। सहकारितासहितको वित्तीय सेवा विकास निकै चुनौतीपूर्ण छ। समुदायको विकासप्रतिको सोच, बसाइँसराइ, आर्थिक क्रियाकलापको स्वरूप आदिले चुनौती थपेको छ। सहकारीहरूको पहिचान राखेर विकास गर्नु आजको चुनौती हो। प्राविधिक विकासका कारण उच्चस्तरको वित्तीय सेवा प्रदान गर्न आकारकै कारण चुनौती भएको छ। कानुन सहजिकरणभन्दा अभियान कमजोर बनाउने खालको छ। सहकारी अभियानको राजनीति अभियान हितमा केन्द्रित छैन। स्वार्थी समूहहरूको पनि हाबी छ।

नयाँ विकासलाई कानूनले समर्थन गरेको छैन—यी सबै आजका चुनौतीका रूपमा लिएको छु। बहुनियामक प्रथा तुरुन्त अन्त्य गर्न आवश्यक छ। बचत तथा ऋण सहकारीहरूको कारोबार वित्तीय सेवा भएकाले संघ एउटा मुख्य कारोबार र एउटा नियामकको पक्षमा रहेको छ। अहिलेको बचत तथा ऋण सहकारीमा भनिएको समस्याको जड नै सहकारीलाई हेर्ने दृष्टिकोणमा निहित छ। जुनसुकै कानून वा नाममा बहुनियामक हुन सक्दैन।

नियामकहरू पनि नेपाल जनताको करबाट चल्ने भएकाले एक निकायबाट हुनु पर्दछ। कसबाट गराउने भन्ने कुरा राज्यको हो। बहुनियामक हुँदा सहकारी रहँदैन, सहकारी रहेन भने नियामक मात्र रहने हो। समस्या देखाउने होइन, व्यवस्थापन गर्न सक्षम नियामक आवश्यक हो। सरकार मूल ढोकाबाट आउनु पर्दछ। अभियानमैत्री नियमनका लागि हाम्रो प्रयास अनवरत रहन्छ। सदस्यहरूको हित, प्रजातान्त्रिक प्रक्रिया हाम्रो आत्मा हो। यो मारेर नियमन पनि हुन सक्दैन। नेफ्स्कूनको काम भनेको माग गर्ने, सवालहरूमा जागरण ल्याउने र समाधानका लागि सहकार्य गर्ने नै हो। बचत तथा ऋण सहकारी अभियानको संरक्षण सरकार, सञ्जाल र सदस्य सबैको जिम्मेवारी हो। नियामकीय भार बहन गर्न सक्ने गरी संस्थागत विकास गर्दै सहकारीहरूको नियमन गर्ने सरकारको आवश्यकता छ।

सरकार अभियानमा दण्ड र पुरस्कार दुवै लिएर नियमन गर्न आउन आवश्यक छ। कानून मात्र सुधारेर नपुग्ने रहेछ, कार्यान्वयन पनि उति नै महत्वपूर्ण हुन्छ। बचत तथा ऋण सहकारीहरूलाई बचत तथा ऋण सहकारीकै रूपमा विकास गर्न पनि नियामक बलियो र पारदर्शी हुन आवश्यक छ। सूचकहरू समसामयिक हुन आवश्यक छ। कानूनभन्दा पनि जोखिम हेरेर सुधार गराउन सक्ने नियामक चाहिन्छ। नियमन प्रविधिमा आधारित बनाउन आवश्यक छ र नियामकीय सोच पनि फेरिन आवश्यक छ। आकार, प्रविधि र सोचका विविधताले सहकारी क्षेत्रले दुःख पाएको छ। अब यस्तो दिनको अन्त्यका लागि संघले पहल गरेको हो र गरिरहने छ। बचत तथा ऋण सहकारीहरू विश्वासमा सञ्चालन हुने र विश्वासका लागि पारदर्शिता र अनुशासन अपरिहार्य हुने भएकाले नेफ्स्कून स्थापना देखि सहकारीको अपरिहार्यता—पारदर्शिता र इमान्दारिता भन्ने अवधारणामा कार्यान्वयन गरेको छ।

पछिल्लो मापदण्डले गरेको व्यवस्थाको पूर्ण परिपालना गरी वित्तीय खुलासाहरूमा पछिल्लो विश्व अभ्यासमा स्वीकार गरिएको स्तर तथा ढाँचाहरू कार्यान्वयन गरिने छ। वित्तीय अनुशासन र पारदर्शिताको हकमा संघ सधैं जिम्मेवार छ। सहकारी ऐन र विश्व अभ्यासले दिएका सफल उदाहरणहरूको अनुसरण गरेर नै संघ अघि बढ्छ। संघको भूमिका सदस्य सुपरिवेक्षण, सम्पत्ति व्यवस्थापन, तरलता व्यवस्थापन र सञ्चालन स्तरीयतामा केन्द्रित हुनेछ। नेफ्स्कूनको सेवा र कार्यक्रमहरू कसैसँग तुलना गर्न मिल्ने खालका छैनन्। संघको पहिलो ध्यान सदस्यहरूको बचत सुरक्षामा हुन्छ। हामीले अलग्गै व्यवसायिक भूमिका खोजेको होइन, अभियानका साझा समस्याहरूको साझा समाधान गर्ने संस्थाको रूपमा विकास गरेको हो। संघले विकास गरेका प्रविधि, तालिम, शिक्षा, अन्तर लगानी—यी सबै साझा समस्या समाधानका लागि विकास गरिएका कार्यक्रम हुन्।

नाफाका लागि विकास गरिएका कार्यक्रमहरू छैनन्। सहकारिता प्रवर्द्धन हाम्रो ध्येय हुनेछ। पहिचान हाम्रो साझा आवश्यकता हो। बलियो, अभियान–नियन्त्रित संघ हामीले विकास गर्न खोजेको संघ हो। नेपालको सहकारी अभियानमा जनसंख्याको संरचना बमोजिम नै आबद्धता भएको पाउन सकिन्छ। जेनेरेसन–जेडका आवश्यकता पूरा गर्न नै सहकारीमा प्रविधिमा आधारित सेवाको परिकल्पना संघले गरेको हो। अभियानमा नयाँ पुस्तालाई स्वागत हुन आवश्यक छ, भूमिका दिन आवश्यक छ र सेवामा प्रविधिमा आधारित बनाउन आवश्यक छ। विद्यालयमा सहकारी जान आवश्यक छ। युवाका आवश्यकतामा सहकारी जोडिन आवश्यक छ। सहकारीले युवाका आवश्यकताका सेवाहरू विकास गर्न सकेन भने सहकारी सञ्चालन हुन सक्दैन। नयाँ पुस्ताले नयाँ विचार लिएर आएको हुन्छ।

सहकारीमा बहुविचार स्वीकार गर्ने संस्कारको विकास गर्नु पर्दछ। युवालाई सहकारीमा जोड्न उद्यमशीलतालाई कार्यक्रमकै रूपमा विकास गरिएको छ। युवाका सवालहरूमा कार्यक्रमहरू विकास भएका छन्। न्यून ब्याजदरका प्रस्तावहरू भएका छन्। वास्तवमा सहकारी क्षेत्र युवामैत्री छ र थप युवामैत्री बन्न युवाहरूको सोचमा पनि सामूहिकता विकास गर्न आवश्यक देखिएको छ। डिजिटाइजेशन बोलिमा होइन, व्यवहारमा आवश्यक परेकोले नै प्रविधि विकासमा संघले सहकार्य गरेको हो। प्रविधि विकास र अंगिकार हाम्रो प्राथमिकता हो। चौथो र पाँचौँ पुस्तामा अभियान जान आवश्यक छ। संघले प्रविधिलाई व्यवसायको रूपमा होइन, अत्यावश्यक सेवाको रूपमा विकास गर्न खोजेको छ। प्रविधि विकास निरन्तर प्रक्रिया हो। यसमा संघ पछि नपर्ने गरी काम गरेको छ। एउटै अभियान, एउटै प्रविधि हाम्रो ध्येय हो। प्रविधि साझा समस्या भएकाले साझा समाधान आवश्यक छ। यसका लागि संघ सक्रिय छ।

कुराकानीमा आधारित

प्रकाशित : 16 August, 2025 7:01 am