काठमाडौं । एमएडब्लु वृद्धि अटोकर्पले चांगनको सस्तो कार लुमिन लन्च यस वर्षको नाडा अटो शोमा सार्वजनिक गर्ने भएको छ । चीनको चर्चित अटो निर्माता चांगानले उत्पादन गर्ने सिटी इलेक्ट्रिक कार ‘लुमिन’ अब नेपालमा पनि देखिने भएको हो । भदौ ३ गतेदेखि काठमाडौंमा सुरु हुने नाडा अटो शो २०८२ मा चांगान लुमिन औपचारिक रूपमा सार्वजनिक गरिनेछ।
नेपालका लागि चांगानको आधिकारिक वितरक एमएडब्लु वृद्धि अटोकर्पले कारको प्रारम्भिक मूल्य रु. २२ लाख निर्धारण गरिसकेको छ। यद्यपि, अटो शोको अवसरमा विशेष छुट प्रदान गरिने अपेक्षा गरिएको छ।
दुई ब्याट्री भेरिएन्ट, अधिकतम ३०१ किमी रेन्ज
चांगान लुमिनमा ३५ किलोवाटको मोटर जडान गरिएको छ। यसमा १७.६५ kWh र २८.०८ kWh क्षमताका दुई ब्याट्री विकल्प उपलब्ध छन्। कम्पनीका अनुसार, सानो ब्याट्रीले २०५ किलोमिटर र ठूलो ब्याट्रीले ३०१ किलोमिटर दूरी तय गर्न सक्छ।
फास्ट चार्जिंग सुविधा
यो कारले DC फास्ट चार्जर सपोर्ट गर्छ, जसले ३५ मिनेटमा ३०% देखि ८०% सम्म चार्ज गर्न सक्छ। यसले दैनिक सहर केन्द्रित यात्राका लागि उपयुक्त विकल्प बन्ने अपेक्षा गरिएको छ।
आकर्षक इन्टेरियर र आधुनिक फिचरहरू
कारमा १४ इन्चका ह्विल, ७ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट डिस्प्ले, र १०.२५ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट युनिट जडान गरिएको छ। साथै, भ्वाइस असिस्टेन्ट, स्मार्टफोन कनेक्टिभिटी, नेभिगेसन, र एडेप्टिभ क्रुज कन्ट्रोलजस्ता सुविधाहरू पनि समावेश छन्।
चीनमा सन् २०२२ देखि बिक्रीमा
चीनमा सन् २०२२ मा पहिलोपटक सार्वजनिक गरिएको चांगान लुमिन मोडुलर EPA0 प्लेटफर्ममा आधारित कार हो। यसको डिजाइन सहरमा प्रयोगका लागि लक्षित गरिएको छ।
नेपालको बजारमा हाल बढ्दो विद्युतीय सवारी साधनको मागलाई मध्यनजर गर्दै, चांगान लुमिनले प्रतिस्पर्धी मूल्यमा उत्कृष्ट रेन्ज र फिचरसहित प्रवेश गर्न लागेको हो।









Comment